दार्चुला । नेपाल भारत सीमा नाकामै पहिलो पटक कोरोना खोप लगाइदै छ । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ स्थित नेपाल भारत जोड्ने पुलघाटमा नाकामा नेपालीलाई पहिलो पटक कोरोना विरुद्धको खोप लगाउन थालिएको छ । सीमा नाकामै रहेको हेल्थ डेस्क मार्फत १८ वर्षमाथिका नागरिकलाई भेरोसेल र कोभिसिल्ड खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो । सात दिन अघिदेखि खोप लगाउने कार्य शुरु गरेका हौँ उहाँले भन्नुभयो, हालसम्म २७७ जनालाई खोप लगाईएको छ ।
जसमध्ये १२५ जना महिला तथा १५२ जना पुरुषगरी २७७ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । दैनिक सीमा नाका भएर आउने १५० भन्दा बढी आउने गरेका छन । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार खोपको सामान्य ‘साइड इफेक्ट’ रहेपनि हालसम्म यहाँ खोप लगाएकाहरुमा कुनै जटिल समस्या देखिएको छैन ।
सीमा नाकामा आइपुग्नेलाई खोप लगाए नलगाएको निक्र्यौल गरेपछि मात्रै लगाइने र जटिल अवस्थाका र दिर्घरोगीलाई भने खोप नलगाइने जनस्वास्थ्य अधिकृत जय राज भट्टले बताए । खोप केन्द्रमार्फत कोरोनाविरुद्धको भेरोसल र कोभिसिल्ड खोप लगाइँदै छ । खोप बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । सीमामा संचालित खोप केन्द्रका बलबहादुर लोहारका अनुसार नियमित खोप सेवा संञ्चालन भैरहेको छ। दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढ्न नदिन भारतसँग नाका जोडिएका नाकामा उच्च सतर्कता अपनाइएको छ ।
हाललाई उक्त भेरियन्ट नेपालमा नदेखिएको भन्दै अहिले देखि नै सावधानी अपनाउन सीमामा कडाई गरिन लागेको हो । दार्चुलाको सदरमुकाम खलंगास्थित भारतसँग सीमा जोडिएका मुख्य नाका पूलघाट लगायतका नाकामा उच्च सतर्कता अपनाइएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले कोरोनाको ओमिक्रोन भेरिएन्टको संक्रमण भित्रिन नदिन सीमा चेकजाँचमा कडाई गर्ने जनाएको छ ।