परिवार नियोजनको स्थायी बन्ध्याकरण शिबिर जारी

२ बर्ष अघि

२0७८ मंसिर २0 सोमबार

परिवार नियोजनको स्थायी बन्ध्याकरण शिबिर जारी

दार्चुला । दार्चुलाका आठ वटा स्थानीय तहमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालनमा  रहेको छ ।  जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको आयोजना तथा मेरी स्टोप नेपालको सहयोग एवम स्थानीय तहको समन्वयमा जिल्लाका आठ वटा स्थानीय तहहरुमा परिवार नियोजन शिविर सञ्चालनमा रहेको हो । यहि मंसिर १४ गते मंगलबार देखि यहि मंसिर २३ गतेसम्म परिवार नियोजनको स्थायी मिनिल्याप र भ्यासेक्टोमी बन्ध्याकरण शिविर संञ्चालनमा रहेको स्वास्थ्य कार्यालय दार्चुलाका  जनस्वास्थ्य अधिकृत जय राज भट्टले जानकारी भयो ।

जिल्लाका दुई नगरपालिका तथा ६ वटा गाउँपालिकाका विभिन्न स्वास्थ्य केन्द्रहरुमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिने उहाँले बताउनु भयो । जसमा मंसिर १४ गते पहिलो दिन सौगन्ना सामुदायिक स्वास्थ्य इकाई  अपि हिमाल गाउँपालिका  गरिएको शिविरमा २ जनाको मात्रै सहभागिता रहेको छ । यस्तै १५ गते लटिनाथ स्वास्थ्य चौकी मार्मा गाउँपालिकामा पनि २ जनाको मात्रै सहभागिता रहेको छ । १७ गते गाउँपालिका भवन होपरीगाड नौगाडमा सबै भन्दा बढि १२ जनाले शिविरमा भाग लिएको बताइएको छ ।

यस्तै  १८ गते शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर अस्पतालमा भएको परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा ३ जना तथा १९ गते पस्ती स्वास्थ्य चौकी मालिकार्जुन गाउँपालिकामा ९ जनागरी २८ जनाले मात्रै शिविरमा सहभागिता जनाएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जसमध्ये १८ जना महिला छन भने ९ जना पुरुष रहेका छन ।


भोली  २१ गते हुती स्वास्थ्य चौकी २२ गते हिकिला स्वास्थ्य चौकी दुहुँ गाउँपालिका तथा २३ गते जिल्ला अस्पताल दार्चुला महाकाली नगरपालिमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरि सम्पन्न गरिने स्वास्थ्य कार्यालय दार्चुुलाले जनाएको छ । स्थायी बन्ध्याकरणमा पुरुषहरुका लागि भ्यासेम्टोमी र महिलाहरुका लागि मिनिल्याप सेवा सञ्चालन भइरहेको छ । महिलाहरुले बन्ध्याकरण गर्न आउँदा खाली पेट र एक जना सहयोगी साथमा ल्याउनुपर्ने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । शिबिरमा आउदा जनस्वास्थ्यका मापदण्डहरु पुर्णरुपमा अपनाउन पनि आग्रह गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।