नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

२ बर्ष अघि

२0७८ मंसिर १३ सोमबार

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

दार्चुला । नेपाल–भारत सीमा सुरक्षा बैठक पिथौरागढमा शनिबार सम्पन्न भएको छ । नेपाल र भारतका स्थानीय प्रशासनहरु सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्नका लागि संयुक्त पहल गर्ने कुरामा सहमत भएका छन् । भारतको पिथौरागढमा शनिबार सम्पन्न भएको नेपाल–भारत समन्वय समितिको बैठकमा सो कुरामा सहमति भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका अधिकारीहरुबीच समन्वय समितिको बैठक सम्पन्न भएको हो । पिथौरागढ जिल्लाका जिल्ला अधिकारी डा. आशिष चौहानको पहलमा सम्पन्न भएको बैठकमा बैतडी र दार्चुला प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र भन्सार कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । बैठकमा सीमा क्षेत्रमा हुन सक्ने मानव बेचबिखन रोकथाम, सीमा नाकाबाट हुन सक्ने लागू औषधको कारोबार, झुलाघाट झोलुंगे पुल मर्मत, भारतसंग जोडिएका घाटहरु व्यवस्थित गर्ने लगायतका बिषयमा छलफल भएको बताइएको छ ।


बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेय, जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेशबहादुर पाल, सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाह, महाकाली भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो । दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको थियो । समन्वय बैठकले सीमा क्षेत्रमा हुन सक्ने विभिन्न समस्या समाधानका लागि पहल गर्ने बताइएको छ ।