बिहेको समान ओसारेको भन्दै विप्लव कार्यकर्ताहरुद्धारा एम्बुलेन्स नियन्त्रण

२ बर्ष अघि

२0७८ मंसिर ८ बुधबार

बिहेको समान ओसारेको भन्दै विप्लव कार्यकर्ताहरुद्धारा एम्बुलेन्स नियन्त्रण

दार्चुला । दार्चुलामा एम्बुलेन्समा बिहेको समान ओसारेको भन्दै विप्लव कार्यकर्ताहरुले एम्बुलेन्सलाई नियन्त्रणमा लिएका छन् ।  लेकम गाउपालिकाको एम्बुलेन्सले मंगलबार राति बिहेको समान बोकिरहेको अवस्थामा मालिकार्जुन गाउपालिका वडानम्बर ४ ऐरिछानाबाट विप्लव समुहले नियन्त्रणमा लिएको हो । लेकम गाउँपालिकाको एम्बुलेन्सले गएराती ब्यक्तिगत समान बोकिरहेको भन्ने जानकारी आएपछि यात्रु र समान बोकिरहेको अवस्थामा नियन्त्रणमा लिएको नेपाल कम्युनिष्ट पार्टी विप्लवका लेकम गाउँपालिका इन्चार्ज भुवन जोशीले जानकारी दिनुभयो ।


गाउँपालिकाको एम्बुलेन्सले पटक–पटक ब्यक्तिगत समान बोक्ने गरेको र विरामीलाई चाहिएको बेला नपाइने स्थानियको गुनासो आएपछि नियन्त्रणमा लिएको उहाँको भनाई छ । विहेको समान र ६ जना यात्रु बोकेर मालिकार्जुन गाउँपालिकाको वडा नं ४ ऐरिछानाबाट लेकम गाउँपालिकाको वडा नं ४ खरकडा तर्फ गइरहेको लेकम गाउँपालिकाको सु।प।प्र ०२००१ च ८५० नम्बरको एम्बुलेन्स ऐरिछाना क्षेत्रबाटै राती १० बजे नियन्त्रणमा लिएको जोशीको भनाई छ ।

यात्रुलाई अर्को जिपमा घर पठाएको र एम्बुलेन्सको चावि आफुहरु संग रहेको उहाँले बताउनुभयो र्। एम्बुलेन्स लिनका लागि हाल सम्म कसैले सम्पर्क गरेका छैनन्, आगामी दिनमा दुरुपयोग नहुने सर्तमा सम्बन्धित ब्यक्तिलाई चावि बुझाउने तयारीमा छौ’ जोशीले भन्नुभयो । एम्बुलेन्स विप्लव समुहले नियन्त्रणमा लिएको विषयमा कुनै औपचारिक जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी पुस्कर सिह ऐरीको भनाई छ ।