तीन पालिका र ३८ वडामा माओवादीको सम्मेलन

२ बर्ष अघि

२0७८ मंसिर ८ बुधबार

तीन पालिका र ३८ वडामा माओवादीको सम्मेलन

दार्चुला । दार्चुलाका तीन पालिका र ३८ वडामा सहमतिमै नेतृत्व चयन गर्दै नेकपा माओबादी केन्द्रको सम्मेलन सम्पन्न भएको छ । बुधबारसम्म जिल्लाका ६१ मध्ये ३८ वडाहरुमा नयाँ नेतृत्व चयन गर्दै सम्मेलन सम्पन्न भएको नेकपा माओबादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रामदत्त जोशीले जानकारी दिनुभयो । बाँकी रहेको २३ वडामा पनि चाँडै वडा सम्मेलन सम्पन्न गर्ने गरी तयारी भइरहेको उहाँले बताउनुभयो ।

दार्चुलाको मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकामा माओबादीले पालिका सम्मेलन समेत सम्पन्न गरिसकेको छ । बाकी रहेका गाउँपालिका तथा नगरपालिकाहरुमा सम्मेलन आयोजना गर्न कार्यतालिका सार्वजनिक गर्ने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् । लेकम गाउँपालिकामा मंसिर ७ गते सम्मेलन गर्ने तयारी भएपनि नेकपा माओबादी केन्द्रको प्रदेश कमिटी बैठक परेकोले सम्मेलन स्थागित गरिएको छ । अपिहिमाल गाउँपालिकामा मंसिर १४ गते सम्मेलन आयोजना हुने बताइएको छ ।


माओबादीले शैल्यशिखर नगरपालिकामा कर्णबहादुर भण्डारीको अध्यक्षतामा नगर कमिटी चयन गरेको छ । मार्मा गाउँपालिकामा नरबहादुर बिष्ट र नौगाड गाउँपालिकामा धनिराम सिह ठगुन्नाको नेतृत्वमा गाउँकमिटी चयन गरेको छ । हालसम्म लेकम, मार्मा, शैल्यशिखर र नौगाडका सबै वडामा सम्मेलन भइसकेको छ । बाँकी वडा र पालिकामा मंसिर महिनामै सम्मेलन आयोजना गर्ने तयारी छ । आजको प्रदेश कमिटी बैठकले सम्मेलनको विषयमा थप निर्णय गर्ने नेता रामदत्त जोशीले बताउनुभयो ।