छाङरु र तिंकरमा जनगणना गर्न आफै खटिए सहायक जनगणा अधिकारी कार्की

२ बर्ष अघि

२0७८ मंसिर ३ शुक्रबार

छाङरु र तिंकरमा जनगणना गर्न आफै खटिए सहायक जनगणा अधिकारी कार्की

दार्चुला । जिल्लाको व्याँस गाउँपालिका १ छाङ्गरु र तिंकरमा जनगणना गर्नको लागी भारत सरकारले पास नदिएपछि सहायक जनगणना अधिकारी खगेन्द्र कार्की नेपालको वाटो पैदल मार्ग हुदै उक्त क्षेत्रमा खटिएका छन् । शुक्रवार सहायक जनगणना अधिकारी कार्की नेपालको बाटो हुँदै एक जना सहयोगी लिएर त्यसतर्फ प्रस्थान गरेका जनगणना कार्यालय दार्चुलाले जानएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले पटक पटक पत्राचार गर्दा पनि भारतले अनुमति नदिँदा नेपालकै बाटो भएर सहायक जनगणना अधिकारी कार्की व्याँस क्षेत्र प्रस्थान गरेको जिल्ला जनगणना कार्यालय दार्चुलाका सूचना अधिकारी जनक सिंह बोहराले जानकारी दिए ।


    शुक्रवार दिउँसोतिर टोली सुन्सेरा पुगेको छ । त्यहाँबाट वडा नम्बर २ दुम्लिङ हुँदै २ दिनको यात्रामा छाङ्गरु पुग्ने वताईएको छ । नेपालबाट व्याँस गाउँपालिका २ दुम्लिङसम्म मात्र बाटो रहेको छ । कात्तिक २५ मै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की र गणक राजेन्द्र कार्कीलाई भारतीय भूमि धारचुलाबाट छियालेक, गब्र्याङ हुँदै सीतापुल तरेर छाङ्गरु जाने गरी पासको व्यवस्था मिलाउन भारतीय प्रशासनलाई पत्राचार गरेको थियो। दार्चुला जिल्ला प्रशासनले पहिलो पटक कात्तिक २५ र ३० गते पत्र पठाएको र त्यसको कुनै जवाफ नआएको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले जानकारी दिए । भदौ ३ देखि १८ गते भएको सूचीकरणको बेला सुपरिवेक्षकलाई छाङ्गरु जान दिए पनि अहिले आएर गणकलाई रोक लगाएको हो । 


   कात्तिक २७ गते तिर सो क्षेत्रको जनगणनामा खटाएका गणक राजेन्द्र कार्कीलाई भारतीय एसएसबीले भारतको वाटो भएर नेपाल जान दिएको थिएन । सोही कारण गणक राजेन्द्र कार्कीले व्याँस जान नमानेपछि सहायक जनगणना अधिकारी खगेन्द्र कार्की पैदल हिँडेका छन् । छाङ्गरु र तिंकरमा सीमित घर भएकाले गणनामा सहायक जनगणना अधिकारी कार्कीलाई त्यत्ति अप्ठ्यारो नपर्ने उनले बताए । तिंकर र छाङ्गरुमा १ सय १३ परिवारको बसोबास रहेको छ ।
   सो क्षेत्रमा सौका समुदायको बसोबास छ चिसो बढेकाले उनीहरू अब जिल्ला सदरमुकाम खलङ्गा कुन्चा सर्ने तयारीमा छन् । भारतीय अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेपछि भारतीय पक्षले पछिल्लो समय सीमा क्षेत्रमा चेकजाँच तथा आवतजावतमा कडाइ गर्नुका साथै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ । व्याँस गाउँपालिका १ स्थित कुटी, नाभि र गुञ्जी भारतीय अतिक्रमणमा छन् । ती गाउँसँगै जोडिएका तिंकर र छाङ्गरुमा नेपालको प्रशासनिक अधिकार कायमै छ । तर, ती बस्तीसम्म पुग्न नेपाली भूमिमा बाटो नहुँदा भारतीय बाटो प्रयोग गर्नुको विकल्प छैन ।