मालिकार्जुन मन्दिरमा राती जात्रा लाग्दै

२ बर्ष अघि

२0७८ मंसिर १ बुधबार

मालिकार्जुन मन्दिरमा  राती जात्रा लाग्दै

दार्चुला । नेपालको सातौं धाम मानिने मालिकार्जुन मन्दिरमा बुधबार ९ आज ० पूजन जात्रा लाग्ने भएको छ । हरेक वर्ष कार्तिक शुल्क चतुर्दशीका दिन लाग्ने जात्रा बुधबार विहानबाट शुरु  भएको हो ।मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने मालिकार्जुन धामको पूजन जात्रा हेर्न सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा लगायतका जिल्ला र भारत, उत्तराखण्डबाटसमेत श्रद्धालु भक्तजन आउने गर्छन् ।
पवित्र मनले मालिकार्जुनको दर्शन गर्नाले पूण्य मिल्ने , मनोकामना पूरा हुने र खासगरी निःसन्तालाई सन्तान सुख प्राप्त  हुने जनविश्वास रही आएको छ । आजकै दिन मालिकार्जुनका देवीहरुको बसोबास रहेको लेकम ५ मैखोली, लेकम ६ उचाकोट, लेकम २ गराडी लगायत विभिन्न शक्तीपिठहरुमा रातभरी जात्रा लाग्ने गर्दछ । 
द्धितिया तिथिबाट जिल्लाको लेकम क्षेत्रमा सुरु भएका जात्रा पूर्णिमाको दिन सकिन्छन् । लेकम गाउँपालिकाको पाती, कुणी लगायत स्थानमा पुर्णिमाको दिन अन्तिम जात्रा लाग्ने गर्दछ । जिल्लाको लेकमा क्षेत्रमा दशै तिहार भन्दा पनि जात्रालाई बढी महत्व दिईने गरेको छ । मालिकार्जुन जात्रामा दमाहा बाजा सहित भक्तजनहरुको भीड लाग्ने गर्छ ।

एक गाउँको दमाहा अर्को गाउँसँग प्रतिस्पर्धा हुने गर्छ । रातभर दमाहा बजाएर विहानीपख सबै बाँजाहरुबीच प्रतिस्पर्धा गराई पहिलो तथा दोस्रो भनेर मन्दिरका मुखियाले विजयी भएको घोषणा गर्ने समेत चलन रहेको छ । मालिकार्जुनको जात्रामा रिठाचौपाताबाट आउने दमाहा बाँजा हरेक वर्ष प्रथम हुन्छ भने मालिकार्जुनकै दोस्रो । यसैगरी रिठाचौपाताको जयपूर मन्दिरमा लाग्ने जात्रामा मालिकार्जुनको दमाहा पहिलो हुन्छ ।रातभरी जात्रा हेरेर विहिबार बिहान प्रसाद ग्रहण गरी मानिसहरु घर फर्कन्छन् भने कोहीले बिहानीपख ठाडो खेल, ढुस्को तथा देउडा खेल्ने गर्दछन् । जात्राको लागि घर बाटा टाढा गएकाहरु समेत फर्किने गरेका छन् ।