१२ हजार बढि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

२ बर्ष अघि

२0७८ कार्तिक ६ शनिबार

१२ हजार बढि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

दार्चुला ।  दार्चुलाका झण्डै १२ हजार बढि बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय भिटामिन कार्यक्रमअनुसार जिल्लाका १२ हजार बढि बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर बिरेन्द्र भट्टले जानकारी दिए । यस्तै सोहि अनुपातमा नै १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको सुपरभाइजर भट्टले जानकारी दिए ।

छ महिना देखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ‘ए’, एक देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । जसका लागि दार्चुलामा ३६० महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । स्थानीय तहले प्रत्येक वडामा तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अनुरोध गरिएको छ ।

सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा यो बर्ष दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो । छ महिनादेखि ५वर्षसम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।