दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगाको तिकंरखेडास्थित प्रेमसिंह बुढाथोकीको घरमा प्रहरीले छापा हानेपछि ठूलो रकमसहित १२ जुवाडे पक्राउ परेका छन् । घरभित्र जुवा खेल भइरहेको विषेश सूचनाको आधारमा छापा हान्दा १२ जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनुभयाे ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्मा नेतृत्वको टोलीले जुवाघरमा छापा हान्दा जुवाखालबाट २ लाख ३७ हजार ३ सय ९७ रुपैँया, ११ थान मोबाइल सेट, १३ गड्डी तास, ६ थान कुर्सी, ४ थान स्टुल, १ थान काठको टेबुल, १ थान गलैचा, २ थान प्लेजर, १ थान कार्पेट र खाली पर्स ७ थान फेला परेको प्रहरी नायव उपरीक्षक भट्टले बताउनु भयाे ।
दार्चुला सदरमुकाम खलंगामा विगतदेखि नै जुवाखेल हुने गरेको छ । प्रहरीले लामो समयदेखि निगरानी गर्दैै आएको र आइतबार छापा हानेको प्रहरी नायव उपरीक्षक भट्टले बताए । जुवाडेहरुसंग सोधपुछ तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।