हेलिकप्टरमार्फत टेलिफोन सुचारु गर्न सोलारप्लेट ढुवानी

३ बर्ष अघि

२0७८ आश्विन २१ बिहीबार

हेलिकप्टरमार्फत टेलिफोन सुचारु गर्न सोलारप्लेट ढुवानी

दार्चुला । दार्चुलाको त्रिदेशीय नाकामा रहेको स्काई फोन सुचारु गर्न हेलिकप्टरमार्फत सोलारप्लेट ढुवानी गरिएको छ । एक वर्षदेखि सञ्चार सम्र्पकविच्छेद रहेको व्याँस गाउँपालिका १ छाङ्गरुमा टेलिफोन सुचारु गर्न हेलिकप्टरमार्फत सोलारप्लेट ढुवानी गरिएको हो । गत वर्ष हिमपातका कारण स्काई टावरमा रहेको सोलारप्लेटमा क्षति पुगेको थियो । सोलारप्लेटमा क्षति भएपछि व्यासँको छाङ्गरुमा घाम लागेमात्रै फोन सुचारु हुने गथ्र्यो । केहि दिनअघि राससमा व्यास एक महिनादेखि सञ्चार सम्पर्कविच्छेद समाचार प्रकाशित भएपछि टेलिकम दार्चुलाले छाङ्गरुको लागि १६ थान सोलारप्लेट हेलिकप्टरमार्फत ढुवानी गरेको हो । 


 व्यासको छाङ्गरुमा खाद्यान्न ढुवानी गरिरहेको सिम्रिक एयरको हेलिकप्टरमार्फत सोलार प्लेट र जडानको लागि टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङलाई छाङ्गरु पुर्याइएको व्याँस गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताउनुभयो ।  विद्युत अभाव र उपकरणमा समस्या देखिएपछि अवरुद्ध बनेको टावरमर्मत गरेर सुचारु गर्ने प्रयास भइरहेको टेलिकम प्रमुख गुरुङले बताउनुभयो । व्याँस गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी हेलिकप्टरमार्फत तिंकरमा खाद्यान्न ढुवानी गर्न गएको बेला सञ्चार सुचारु गर्न पहल गरिदिन स्थानीयले आग्रह गर्नुभएको थियो । सोहीअनुसार गाउँपालिकाले खाद्यान्न सँगै स्काई टेलिफोन सुचारु गर्न सोलार प्लेटसहित जनशक्ति छाङ्गरु पठाएको हो । 


कालापानी नजिकको गाउँ छाङ्गरु र तिकंरका स्थानीयबासीन्दा सञ्चारसम्पर्क विच्छेदको अवस्थामा छन् । स्काई फोन सुचारु भए छाङ्गरुमा फोन सेवा लागे पनि तिंकरबासी भने जहिल्यै सञ्चारबाट टाढा रहँदै आएको स्थानीय दानसिह तिंकरीले बताउनुभयो ।  छाङ्गरुमा फोन सेवा नहुँदा इन्टरनेटको माध्यमबाट सञ्चार गर्ने गर्छन् । छाङ्गरुमा भाइनेटले सेवा दिएको छ ।