दार्चुला । दार्चुला जिल्लाको व्याँस छाङगरुस्थित नीतिकुण्डमा नेपाल प्रहरी बसेको ५१ वर्षपछि नयाँ भवन निर्माण सुरु भएको छ । सीमा सुरक्षा, अपराध नियन्त्रण र स्थानीयको सुरक्षामा खटिएको प्रहरीको लागि नयाँ सुविधासम्पन्न भवन निर्माण सुरु भएको हो । नेपाल प्रहरी पहिलो पटक २०२७ सालमा छाङ्गरु सीतापूलमा बसेको थियो । प्रहरी यसअघि छ महिना व्याँसको छाङगरु र छ महिना दुम्लीङ झर्ने गरेकोमा गत वर्षबाट बाह्रै महिना छाङ्गरुमा बस्न थालेको छ । तर प्रहरीले पूरानो चुहिने भवनमा बसेर ड्युटी गर्नुपरेको थियो ।
छाङ्गरुमै बाह्रै महिना बस्ने सशस्त्र प्रहरीको लागि भवन निर्माण सुरु भएको एक वर्षपछि नेपाल प्रहरीको पनि भवन निर्माण हुन लागेको हो । भवन निर्माणको लागि निर्माण व्यवसायी, प्रहरी पुगेर भवन निर्माण सुभारम्भ गरेका छन् । जिल्ला प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले नवनिर्माण हुने भवनको शिलान्यास गर्नुभएको छ ।
पूरानो जीर्ण भवनमा बस्दै आएका प्रहरीको लागि २ तला र ११ कोठे भवन निर्माण सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिनुभयो । भवन निर्माणको शिलान्यास गरिएको छ । अबको दुई वर्षभित्र भवन निर्माण सक्नुपर्ने छ ।
भवन निर्माणको लागि कुल २ करोड २ लाख ८५ हजार ५१९ रुपैयाँ लागतमा एलबी एण्ड एबी प्रालि धनगढीसँग गत वैशाख ७ गते ठेक्का सम्झौता भएको थियो ।
भवन निर्माण २०८० वैशाख ६ गते सक्नुपर्ने सम्झौतामा उल्लेख छ । भवन निर्माण गर्न सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बजेट विनियोजन गरेको हो । यो क्षेत्रमा मङ्सिर पछि हिमपात हुने हुँदा भवन निर्माणको काम गर्न सकिदैन् । अहिले निर्माण व्यवसायीले जगको काम सुरु गर्ने तयारी गरेको छ । भवन निर्माणको लागि चाहिने ढुङ्गा गिट्टी सरियाको व्यवस्थापन गरेको छ । भवन निर्माणको लागि आवश्यक ३ हजार ५ सय क्यूफिट काठको लागि गत भदौ २१ गतेको मन्त्रिपरिषद बैठकले स्वीकृत दिएको छ । तर भवन निर्माणको लागि सामुदायिक वनले भने काठ दिन नसकिने जनाएको छ । भवनमा काठको प्रयोग बढि हुने छ । छाङ्गरुमा चिसो हुने भएको कारण न्यानो हुने गरी भवन निर्माण गरिन लागेको डिएसपी भट्टले बताउनुभयो ।