प्राविधिक मूल्याङ्कन नहुँदा दर्जनौ विद्यालयको खाता रोक्का

६ बर्ष अघि

२0७५ भाद्र ५ मंगलवार

प्राविधिक मूल्याङ्कन नहुँदा दर्जनौ विद्यालयको खाता रोक्का

कृष्ण धामी, भाद्र ५ दार्चुला । शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाबाट गत विगत बर्षहरुमा चल्दै आएको विद्यालय भौतिक विकास कार्यक्रम (एसएसडीपी) अन्तरगत निर्माण भईरहेका विद्यालय भवनहरुको प्राविधिक मूल्याङ्कन नहुँदा दर्जनौँ विद्यालयका खाता रोक्का भएका छन् । चालु आर्थिक बर्षबाट जिल्ला शिक्षा कार्यालयको भूमिका परिवर्तन भएसँगै तत्कालीन जिल्ला शिक्षा कार्यालय दार्चुलामा कार्यरत करार कर्मचारीहरुलाई काम नगर्न भनिएपछि ति विद्यालयहरुको प्राविधि मूल्याङ्कनको काम रोकिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख जयदेब महराले जानकारी दिनुभयो ।
तत्कालीन जिल्ला शिक्षा कार्यालय अन्तरगत अस्थायी दरबन्दीमा ३ जना प्राविधिकहरु करारमा काम गरिरहेका थिए । दार्चुला जिल्लाका नौ वटै स्थानीय तहहरुमा कार्यक्रमले समेटेका विद्यालय भवनहरुको प्राविधिक मूल्याङ्कन तिनै कर्मचारीहरुबाट भईरहेको थियो । पछिल्लो समय जिल्ला शिक्षा कार्यालयलाई शिक्षा विकास समन्वय इकाइमा परिणत गरेसँगै गत विगत आर्थिक बर्षका कार्यक्रम सम्पन्न हुन बाँकी रहेका हुन् ।
झण्डै सात दर्जन विद्यालय भवन सम्पन्न हुन बाँकी
आर्थिक बर्ष २०७३÷७४ का क्रमाङ्गत चारकोठे भवन चारवटा सम्पन्न हुन बाँकी रहेका छन् । त्यस्तै आर्थिक बर्ष २०७४÷७५ का क्रमाङ्गत चारकोठे भवन चारवटा, एक बर्षमा सम्पन्न हुने दुईकोठे भवन ३७ मध्ये २७ वटा सम्पन्न हुन बाँकी छन् । त्यस्तै विद्यालय मर्मत तर्फ ४७ भवन मध्ये २७ वटा सम्पन्न हुन बाँकी र छात्रा सौचालयहरु ९ वटा मध्ये कुनै पनि फरफारक नभएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ । 
करोड रकम खातामै थन्कीयो
चारकोठे, दुईकोठे, भवन मर्मत र सौचालय निर्माण गरी झण्डै सात दर्जन विद्यालयहरुको अन्तिम किस्ताको करोडौँ रकम अझै खातामै थन्किएको छ । चारकोठे विद्यालय भवन निर्माणका लागि यो बर्ष १८ लाख, दुई कोठे विद्यालय भवन निर्माणका लागि १६ लाख, भवन मर्मतको लागि एक लाख, र सौचालय निर्माणका लागि ६ लाख रुपैँया बजेट विनियोजन गरिएको छ । तर उक्त रकम काम सम्पन्न गरिएपछि मात्रै भुक्तानि गर्नु पर्ने हुनाले खातामै रोक्का गरिएको हो ।
प्राविधिक मूल्याङ्कन मूख्य समस्या 
विगत आर्थिक बर्ष र गत आर्थिक बर्षमा कार्यान्वयनमा आएका उक्त विद्यालय भवनहरुको प्राविधिक मूल्याङ्कन हुन नसक्दा समस्या भएको हो । चालु आर्थिक बर्षको साउन  १ गते शिक्षा मन्त्रालयको परिपत्र अनुसार अस्थायी, करार, ज्यालादारी कर्मचारीहरुलाई काम गर्न नलगाउने परिपत्र आएपछि दार्चुला जिल्लामा कार्यरत शिक्षाका सबै प्राविधिकहरु अहिले अलपत्र अवस्थामा हुँदा काम रोकीएको हो ।


गत बर्ष नै सम्पन्न हुनु पर्ने एसएसडीपी कार्यक्रम अन्तरगत माथि उल्लेखित विद्यालयहरुले धेरैले काम सम्पन्न गरेको र आफुहरुसँग अधिकार नभएकोले ती भवनहरुको अन्तिम मूल्याङ्कन गर्न बाँकी रहेको प्राविधिक पुष्पराज अवस्थीले जानकारी दिनुभयो । अझै अन्यौलय कायमै रहेको हुँदा आफुहरु शिक्षा विकास तथा समन्वय इकाइमा ठाडो हाजिर लगाईरहेको प्राविधिक अवस्थीको भनाई छ ।
सेवा प्रदायक विद्यालयहरु थप समस्यामा
विद्यालय भवन नहुँदा जेनतेन गरी भवन निर्माण तथा मर्मतको लागि सिफारिस भएका विद्यालयहरुले काम सम्पन्न गरेपछि पनि अन्तिम निकासा नपाएपछि समस्यामा परेका छन् । विद्यालयमा काम गर्ने कामदारहरुलाई पारश्रमिक दिन नसक्नु, सुदुरपश्चिमको महान चाड गौरा पर्व निजकीदै गर्दा आर्थिक समस्या झेल्नु पर्दा कामदारहरुले निर्माण समिति अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापकहरुलाई पैशाका लागि अत्याएको उनीहरुले गुनासो गरेका छन् ।