हेलिकोप्टरमार्फत व्यासमा खाद्यान्न ढुवानी गरिदै

२ बर्ष अघि

२0७८ आश्विन १७ आईतवार

हेलिकोप्टरमार्फत व्यासमा खाद्यान्न ढुवानी गरिदै

दार्चुला । दार्चुला जिल्लाको व्यास गाउँपालिकामा हेलिकोप्टरमार्फत खाद्य संस्थानको चामल ढुवानी भइरहेको छ । व्यासका विभिन्न बस्तीमा वितरण गर्नका लागि ६ सय क्विन्टल चामल हेलिकोप्टरमार्फत ढुवानी गर्न लागिएको हो । दुहुँ गाउँपालिकाको धारीबाट सिम्रिक एयरको हेलिकोप्टरले चामल ढुवानी शुरु गरेको व्याँस गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीले जानकारी दिनुभयो । 

आइतबार व्यास गाउँपालिकाको वडा नम्बर ३ सिनामा एक सय क्विन्टल चामल ढुवानी भइरहेको छ । व्यासको राप्ला, सुन्सेरा, सिना, छाङरु, तिकंर, दुम्लीङ र मालगाउँमा गरेर कुल ६ सय क्विन्टल चामल ढुवानी गरिने अध्यक्ष बुढाथोकीले बताउनु भयो । नेपाल खाद्य संस्थानले टेण्डर आह्वान गरेर चामल ढुवानीका लागि सिम्रिक एयर छनोट भएको बताइएको छ । व्यासमा खाद्यान्न ढुवानी गर्न सडक र बाटोघाटोको व्यवस्था नहुदा हेलिकोप्टरमार्फत चामल ढुवानी गर्नुपर्ने बाध्यता छ ।