कोरोनोविरुद्वको खोप लगाउने संख्या ६० हजार नजिक

२ बर्ष अघि

२0७८ आश्विन १६ शनिबार

कोरोनोविरुद्वको खोप लगाउने संख्या ६० हजार नजिक

दार्चुला । दार्चुलामा कोरोनाविरुद्वको खोप लगाउनेको संख्या झण्डै ६० हजार नजिक पुगेको छ ।  पछिल्लो चार दिनमा मात्रै १८ वर्षमाथिका २५ हजार बढि नागरिकले खोप पाएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाईजर विरेन्द्र भट्टले बताउनुभयो ।
अहिले पनि जिल्लामा खोप लगाउने क्रम जारी छ । १८ वर्षमाथिका नागरिकलाई खोप लगाउन ४० हजार डोज खोप जिल्लाका सबै ९२ वटै स्वास्थ्य संस्थामा पठाइएको छ । जिल्लाभरी पहिलो जोड खोप पाउने नागरिकको संख्या ५९ हजार ९९३ जना पुगेको भट्टले बताउनुभयो । 

जिल्लाको कुल जनसंख्याको ६१ प्रतिशत नागरिकले पहिलो डोज खोप लगाएका छन् । भने दुवै डोज खोप लगाउनेको संख्या ३८ प्रतिशत पुगेको छ । भारत र चीन सँग सीमा जोडिएको जिल्ला भएको कारण पनि यहाँ खोप लगाउनेको संख्या बढेको हो । 
चीनले पठाउने खोपमा सीमा जोडिएको जिल्लालाई प्राथमिकता दिदै आएको छ । खोप लगाउने क्रम जारी रहेको हुँदा सबै नागरिकलाई स्वास्थ्य संस्थामा गएर खोप लगाउन उहाँले आग्रह गर्नुभयो ।  अहिले भारतीय नाका भएर नेपाल प्रवेश गर्ने नेपालीलाई समेत सीमा क्षेत्रमा खोपको व्यवस्था गरिएको छ ।