दार्चुलामा चाडपर्व लक्षित यात्रु र नागरिक सहायता कक्ष स्थापना

२ बर्ष अघि

२0७८ आश्विन १४ बिहीबार

दार्चुलामा चाडपर्व लक्षित यात्रु र नागरिक सहायता कक्ष स्थापना

दार्चुला । नजिकिदै गरेका चाडपर्व दशैँ, तिहार, छठलाई लक्षित गर्दै दार्चुलाको बसपार्क क्षेत्रमा जिल्ला प्रहरी कार्यालय र अस्थायी ट्राफिक प्रहरी कार्यालयले यात्रुको सजिलोको लागि यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वका बेला यात्रुहरुलाई हैरानी हुन सक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
सदरमुकाम खलंगास्थित बसपार्क, दत्तु, शंकरपुर पस्ती, मालिकार्जुन र शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताउनुभयो । कुनै पनि यात्रुले यात्रा गर्दा समस्या भोग्नुनपरोस् भन्नको लागि यात्रु सहायता कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो ।
चाडपर्वका बेला सवारी साधानमा क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने लगायतका कामहरु हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको भट्टले बताउनुभयो ।
यात्रु सहायता कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीले यात्राको क्रकमा वास्तविक भाडाभन्दा बढि भाडा लिइएको पाइएमा कारवाही गर्न ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई निर्देशन गर्नुभयो । यात्रु गर्दा यात्रुले पनि अनिवार्य टिकट काटेर हिड्यौं उहाँले भन्नुभयो, भाडाभन्दा बढि लिएको छ भने नजिकका प्रहरी युनिट वा यात्रु सहायता कक्षमा सम्पर्क गरौं । 
छोटो तथा लामो दुरीका सवारी साधनमा यात्रा गर्दा सीट क्षमता भन्दा बढि यात्रु राख्ने तथा मुढा राखेर यात्रु चढाइएको छ भने कारवाही गर्न प्रहरीलाई निर्देशन गर्नुभयो ।
उहाँले अहिले पनि कोरानाको असर कायमै रहेको हुँदा यात्रा गर्दा अनिवार्य मास्क र सेनिटाइजर बोक्न समेत यात्रुहरुलाई आग्रह गर्नुभयो । 
उहाँले भन्नुभयो ‘क्षमताभन्दा बढी यात्रु राख्नु, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनु, तीव्र गतिमा सवारी साधन हाक्नु लगायतका कारणले सवारी दुर्घटना हुन्छन् । तिनै कुरालाई नियन्त्रण गर्न यात्रु सहायता कक्ष स्थापना गरेका हौं ।’ नियमको पालना गरेर सबैले यात्रा गरौं र गाडी चलाउन आग्रह गर्नुभयो ।