दार्चुलामा आम सञ्चार नीति बारे सुझाव संकलन

२ बर्ष अघि

२0७८ आश्विन १४ बिहीबार

दार्चुलामा आम सञ्चार नीति बारे सुझाव संकलन

दार्चुला । सुदुरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले आम सञ्चार नीति बनाउने उद्देश्यले तयार पारेको मस्यौदामाथि सुझाव संकलन गरेको छ । प्रदेश सरकारले आम सञ्चार सम्बन्धी मस्यौदामाथि सुझाव संकलन गर्ने कार्य दार्चुलाबाट सुरु गरेको हो । आम सञ्चार नीति तयार गर्न गत भाद्र २५ गते चित्रांग थापाको नेतृत्वमा मस्यौदा समिति गठन गरिएको थियो । उक्त समितिले प्रदेशका नौ ओटै जिल्लाका पत्रकार तथा सरोकारवालाहरुसंग सुझाव संकलन गर्ने कार्य आरम्भ गरेको समिति सदस्य अर्जुन शाहले बताउनु भयो ।

सञ्चार माध्यमहरु मर्यादित बनाउने तथा पत्रकारहरुको सुरक्षाको ग्यारेन्टी गर्ने उद्देश्यले आम संचार नीति बनाउन लागिएको अर्का सदस्य रामसिंह ठगुन्नाले बताउनु भयो । पत्रकार सुरक्षा कोष, प्रदेशमा पनि प्रदेश राष्ट्रिय समाचार समिति स्थापना गर्ने लगायत विषयवस्तुहरु मस्यौदामा समेटिएको छ ।
कार्यक्रमका सहभागिहरुले पत्रकारिता पेशा मर्यादित बनाउनुपर्ने र स्वतन्त्रतामा जोड दिनुपर्ने सुझाव दिएका छन् । मिडियाहरुमाथि पनि नियमनको आवश्यकता खड्किएको पत्रकारहरुले नै सुझाव दिएका छन् । बढी जसो वक्ताहरुले भने मस्यौदा समितिले संकलन गरेको सुझाव समेट्न र बन्ने आम सञ्चार नीति कार्यान्वयनमा जोड दिएका छन् ।