खलंगा बजारमै जताततै म्याद नाघेका समान भेटिए

२ बर्ष अघि

२0७८ आश्विन १0 आईतवार

खलंगा बजारमै जताततै म्याद नाघेका समान भेटिए

दार्चुला ।  जिल्ला प्रशासन कार्यालय दार्चुलाको अगुवाईमा शुक्रबार देखि सुरु भएको बजार अनुगमनको क्रममा खलंगाको जताततै म्याद नाघेका समान भेटिएका छन । चाडपर्व नजिकिँदै गर्दा स्थानीय प्रशासनबाट भएको अनुगमनको क्रममा बजारमा छ्याप्छायाप्ती अखाद्य म्याद नाघेका समान भेटिएको हो ।
सदरमुकाम खलंगाको बीच बजार देखि मल्लो बङ्गाबगडका केही थोक तथा किराना पसल, मासु पसलमा अनुगमन गर्दा म्याद नाघेका अखाद्य समान भेटिएको बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताउनुभयो । 

बजारमा पाइने खाद्यान्न, पेय, पदार्थ, मसाला, मासु, दैनिक उपभोग्यसम्मका वस्तु म्याद नाघेर खान योग्य छैनन्, सहायक प्रजिअ जोशीले भन्नुभयो, उपभोक्ता र व्यापारी दुवै सचेत नहुँदा ठूलो मात्रामा समान नष्ट गर्नुपरेको छ ।  अनुगमन टोलीले मल्लो बंगागडको एक पसलबाट एक मिनि टिप्पर समान नष्ट गरेको छ । अनुगमन समितिका अनुसार शनिबार नमकीन चिप्स १५ पेटी, सकली तोरीको तेल १० लिटर, चामल ३० केजी, विस्कुट २ पेटी, मेङ्गो जुस १४ बोतल, कोकाकोला २ लिटर, जाब्राली चामल ८ कठ्ठा, बदाम १ पेटी लगायतका समान बरामद गरि नष्ट गरेको छ । 

दशै नजिकिदै गर्दा अनुगमन टोलीले बजारमा सक्रियता देखाएको हो। तर सदरमुकाम खलंगामै पटक पटक बजार अनुगमन हुँदा पनि म्याद नाघेका बस्तु, भेटिन छोडेको छैन् । अहिले पनि अनुगमन टोलीले मुल्य सूची राख्न, पसलको साइनबोर्ड राख्न लगायत सुझाव दिदै आएको छ ।