दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ३ झुस्कुमा करेन्ट लागेर शनिबार एक महिलाको घटनास्थलमै ज्यान गएको छ । ज्यान गुमाउनेमा झुस्कु बस्ने अन्दाजी ५० वर्षीया द्रोपती बडू रहेको स्थानीयले बताएका छन् । नेपाल विद्युत प्राधिकरण दार्चुलाको लापर्बाहीका कारण ति महिलालाई करेन्ट लागेको बताइएको छ ।
घर नजिकैको गडानी भन्ने स्थानमा घास काट्न गएका बेला भुईमा खसेको विद्युतिय तारबाट करेन्ट प्रवाह भएर उहाँको घटनास्थलमै मृत्यु भएको हो । महाकाली नगरपालिका वडा नम्बर २ को वडा कार्यालय र मल्लो सेला बजारमा विद्युतीकरण गर्न विगतमा दार्चुला विद्युत प्राधिकरणले ग्याबिन तारमा विद्युत तानेको थियो । विद्युतिय तार भुइमा खसेकोबारे नेपाल विद्युत प्राधिकरण दार्चुलाको कार्यालयमा जानकारी गराउदा उक्त तारमा करेन्ट नभएको प्रतिक्रिया दिएको स्थानीयहरुले बताएका छन् ।
विद्युत प्राधिकरणका चरम लापर्बाहीका कारण महिलाले अकालमै ज्यान गुमाउनुपरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।