दार्चुलामा भाइरल ज्वरोका विरामी बढे

२ बर्ष अघि

२0७८ आश्विन ९ शनिबार

दार्चुलामा  भाइरल ज्वरोका  विरामी बढे

दार्चुला । दार्चुला जिल्लाभरी ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । अस्पतालमा भाइरलजस्तै उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । केही दिनयता उपचारका लागि अस्पताल आउनेमा भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टले बताउनुभयो ।  एक सातादेखि अस्पतालमा ज्वरो, रुघाखोकीलगायत भाइरलका बिरामीको संख्या बढेको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित भएको उहाँको भनाइ छ । ग्रामीण क्षेत्रबाट अहिले दैनिकजसो टाउको दुख्ने, ज्वरो आउने बिरामी अस्पतालमा पछिल्लो समयमा आइरहेका छन् । 

अहिले दैनिक एक सयभन्दा बढी बिरामी ओपीडीमा पग्ने गरेका छन् । तीमध्ये भाइरल ज्वरोका ८० जनाभन्दा बढी संख्यामा बिरामी उपचारका लागि आउने गरेका भट्टले जानकारी दिनुभयो ।  मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउदा भाइरल ज्वरोका बिरामी बढेको अनुमान अस्पतालको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लामा सबैभन्दा बढि समस्या टाउँको दुखेर विरामी स्वास्थ्य संस्थामा आउने गरेका छन् । स्वास्थ्य कार्यालयले निकालेको तथ्याङ्क अनुसार टाउँको दुखेर मात्रै जिल्लाभरी १२ हजार २ सय १८ जना विरामी स्वास्थ्य संस्थामा पुगेका छन् ।

यस्तै रुघाखोकी ११ हजार ६११ जना, ग्यास्टीकका ११ हजार ४९९ जना, निमोनियका ११ हजार २७९ जना, घाइते चोटपटक लागेर ८ हजार ३१ जना विरामी स्वास्थ्य संस्थासम्म पुगेको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य कार्यालय दार्चुलाले जिल्लामा सबै भन्दा बढि समस्या देखिएका १० वटा रोगको सूची निकालेको हो । 

 जिल्लामा दाँत दुखेर स्वास्थ्य संस्थासम्म पुग्ने विरामी ४ हजार ३५७ जना, कम्मर ढाँड दुख्ने ४ हजार २१ जना, भाइरल एन्फुलन्जा ३ हजार ५१३ जना, पेट दुखाइ ३ हजार ५१० जना, दमका रोगीका ३ हजार २५० जना र अन्य विभिन्न किसिमका रोगका २ हजार ९७० जना विरामी स्वास्थ्य संस्थामा पुगेका छन् । अहिले जिल्लाभरी मौसममा आएको परिवर्तनका कारण पनि रुघाखोकी टाउँको दुख्ने, ज्वरो आउने जस्ता विरामी बढि रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।