दार्चुलामा चाडपर्व लक्षित विषेश सुरक्षा योजना लागू

२ बर्ष अघि

२0७८ आश्विन ९ शनिबार

दार्चुलामा चाडपर्व लक्षित विषेश  सुरक्षा योजना लागू


दार्चला । दार्चुलामा प्रहरीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । यी चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाएर लागू गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख मनोहरप्रसाद भट्टले दशैं, तिहार र छठ पर्वका बेला हुनसक्ने चोरी, डकैती, ठगी, लगायतका अपराधिक गतिविधिलाई ध्यान दिंदै सुरक्षा योजना लागू गरिएको बताउनुभयो ।

यो अवधिमा जिल्लाभरीका सबै युनिटहरुबाट ३२४ जना प्रहरी परिचालन गरिने डिएसपी भट्टले बताउनुभयो । प्रहरीले मुख्य सडकहरुमा समेत विशेष निगरानी बढाउने छ । सडक क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणको लागि चेकजाँचमा कडाई गरिनेछ । जसको लागि १० वटा मोटरसाइकलमा नियमित प्रहरीको छड्के जाँच, ३ वटा भ्यानमा प्रहरीको विशेष सुरक्षाकर्मी परिचालन हुनेछन् । 

यस्तै ठाउँ ठाउँमा ट्राफिक प्रहरीसहितको चेकजाँचको प्रबन्ध मिलाइएको डिएसपी भट्टले बताउनुभयो ।  यस्तै भारतसँग सीमा जोडिएको तिग्रम, खलंगा, दत्तु, जोलजीवि र लालीमा यात्रु सहायता कक्ष स्थापना गरिने छ । सीमामा आवत जावत गर्ने व्यक्तिलाई सहज होस् भन्न यात्रु सहायता कक्ष स्थापना गरिन लागेको हो । राजमार्ग क्षेत्रमा रिफ्रेस सेन्टर स्थापना गर्ने, स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमन गर्ने, सार्वजनिक स्थान, सरकारी कार्यालयको सुरक्षामा पनि विशेष ध्यान दिइएको भट्टले बताउनुभयो ।