अखाद्य बस्तु विक्री गर्ने दुई जना व्यापारीलाई जरिवाना

२ बर्ष अघि

२0७८ आश्विन ८ शुक्रबार

अखाद्य बस्तु विक्री गर्ने दुई जना व्यापारीलाई  जरिवाना

दार्चुला ।अखाद्य बस्तु विक्री वितरण गर्दै आएका खलंगाका दुई जना व्यापारीलाई जरिवाना गरिएको छ । चाडपर्व लक्षित बजार अनुगमनका क्रममा जिल्ला सदरमुकाम खलंगामा किराना पसल संचालन गर्दै आएका हंस ट्रेडर्स एण्ड सप्लायर्स र दिनेश मासु पसल एण्ड फ्रेस हाउसका संचालकलाई जनही १५÷१५ हजारका दरले जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समिति संयोजक ज्योत्स्ना भट्टले जानकारी दिनुभयो ।आज गरिएको बजार अनुगमनका क्रममा किराना पसलमा म्याद नाघेको अखाद्य सामग्री र मासु पसलमा सडेको मासु फेला परेको थियो । मासु पसल एण्ड फ्रेस हाउसबाट करिब ३० किलोग्राम जति सडेको मासु र हंस ट्रेडर्स एण्ड सप्लायर्सबाट म्याद नाघेको २५ किलोग्राम पापड र ५ किलोग्राम नरिवल बरामद गरी नष्ट गरिएको छ ।
 खलंगाका २० ओटा पसलहरुमा अनुगमनका क्रममा म्याद नाघेका अखाद्य वस्तुहरु बरामद गरि नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी भट्टको भनाई छ । यसअघि बजार अनुगमन समितिले पसलहरुमा अनिवार्य मूल्य सूची गरेको थियो । मूल्य सूची नराखेका व्यापारीहरुलाई जरिवाना समेत गरेकाले अहिले सबैजसो पसलमा मूल्य सूची राख्ने बानी परेका छन् ।
बजार क्षेत्रमा किनमेल गर्दा उपभोक्ता स्वयम चनाखो हुनुपर्ने, उपभोग्य सामग्रीको उत्पादन मिति जाँच गरेर मात्रै किन्ने जस्ता सावधानी अपनाउन सकिए ठगिन बाट जोगिने उहाँको सुझाव छ । म्याद नाघेका अखाद्य सामग्री फेला परेमा प्रशासनलाई जानकारी गराउन समेत आग्रह गरेका छन् ।