बाढीपहिरो प्रभावित बस्ती स्थानान्तरणको माग गर्दै दुहुँका जनप्रतिनिधि सिंहदरबारमा

२ बर्ष अघि

२0७८ आश्विन ८ शुक्रबार

बाढीपहिरो प्रभावित बस्ती स्थानान्तरणको माग गर्दै दुहुँका जनप्रतिनिधि सिंहदरबारमा

दार्चुला ।  गत भदौ १३ गते आएको बाढिपहिरोका कारण प्रभावित भएका दुहुँको वस्ती स्थानान्तरणको माग गर्दै दुहुँका जनप्रतिनिधि सिंहदरबार पुगेका छन् । वस्ती नै स्थानान्तरण गर्नुपर्ने गरि बाढिपहिरो आए पछि दुहुँका जनप्रतिनिधि सिंहदरबार पुगेका हुन् । दुहुँका जनप्रतिनिधिले बुधबार प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटि वाढीपहिरो प्रभावित बस्तिलाई स्थानान्तरणका लागि आग्रह गरेका छन् ।


दार्चुलाबाट प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा गएको जनप्रतिनिधीको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाललाई भेटेका हुन् । वाढिपहिरोले क्षति पुर्याएको दुहुँ गाउँपलिकाको वडा नं। २ र ५ का विभिन्न वस्तिहरु स्थानान्तरणका लागि आवश्यक पहलको लागि आग्रह गरिएको दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्रवहादुर कार्कीले जानकारी दिनुभयो ।


दार्चुलाबाट गत शुक्रवार हिडेको टोलीले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतलाई भेट गरि काठमाण्डौं गएका हुन् । गाउँपालिकाको टोलीले सरकारसँग घरवारविहि लाई बस्ती स्थानान्तरण, घरजग्गाको बिकल्प भएका वाढीपीडितलाई घर निर्माणका साथै मर्मत योग्य घरहरुलाई मर्मत सम्भार र दुहुँ गाउँपालिकालाई पुर्वाधार पुन निर्माणका लागि विशेष गाउँपालिका घोषणा गर्न माग गरेका छन् ।


गृहमन्त्री वालकृष्ण खाणले दुहुँ गाउँपालिकामा विज्ञ टोली अध्ययनका लागि पठाउने र अध्ययन प्रतिवेदन रिपोर्टपश्चात थप निर्णयमा पुग्ने बताउनुभयो ।  दुहुँमा आएको वाढी र पहिरोले दुहुँ गाउँपालिमा ५ जनाको मृत्यु भएको थियो भने झोलुङगे पुल, मोटरेवल पुल, विद्युत, पानीघट्ट, खानेपानी, बाटोघाटो, सयौ घरहरु क्षतविक्षत भएका थिए ।

काठमाण्डौं गएको टोलीमा जिल्ला समन्वय समिति प्रमुख करविर वहादुर कार्की, गाउँपालिका अध्यक्ष पुलेन्द्रवहादुर कार्की, दुहुँ गाउँपालिका वडा नं। २ का वडाअध्यक्ष गोविन्दसिह डडाल, ३ का वडा अध्यक्ष लालवहादुर वंम र वडा नम्बर ५ वडाअध्यक्ष दौलत सिह महर सहभागि छन् ।