४ वटा सडक योजना देउवा सरकारले गर्यो खारेज

२ बर्ष अघि

२0७८ आश्विन ८ शुक्रबार

४ वटा सडक योजना देउवा सरकारले गर्यो खारेज

दार्चुला । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारको सडक योजना खारेज गरेको छ । जसमा दार्चुला जिल्लाका ४ वटा सडक योजना पनि परेका छन् । केपी ओली सरकारले ल्याएका सडक योजनामध्ये वर्तमान देउवा सरकाले १४१० सडक योजना खारेज गरेको हो । 


दार्चुलाका खारेजी भएका सडक योजनाहरुमा विटुले–पारिबगर–खण्डेश्वरी सडक, भर्तोला–उकु सेरा सडक, पारिबगर–परमचुला सडक र तिमुरपाटा– बनानी सडक रहेका छन् । यी सबै क्षेत्रमा सडक मार्गले जोड्न सकिएको छैन् । सडक गाउँ पुग्ने आशा गरेका नागरिक सरकारले सडक योजना खारेज गरेपछि निराश बनेका छन् ।


नयाँ सरकार बनेपछि अघिल्लो सरकारले ल्याएको बजेटमा संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक ल्याएका छन् । प्रतिस्थापन विधेयकबाट नै यहाँका ४ वटा सडक आयोजना बजेट नभएको भन्दै खारेज भएको छन् ।  ओली सरकारले सडक पूर्वाधार विकास कार्यक्रम ७९३ र तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ६१७ सडक सिलान्यास गरेको थियो । तर, अर्थमन्त्री जनार्दन शर्माले पूर्वतयारी तथा बजेट नभएको भन्दै शिलान्यास गरिएको सडक आयोजना नै खारेज गरिदिएका हुन् ।