१८ वर्षमाथिका सबै नागरिकलाई असोज १० देखि खोप लगाइने

२ बर्ष अघि

२0७८ आश्विन ७ बिहीबार

१८ वर्षमाथिका सबै नागरिकलाई असोज १० देखि खोप लगाइने

दार्चुला । दार्चुला जिल्लाका १८ वर्षमाथिका सबै नागरिकलाई असोज १० गतेदेखि १४ गतेसम्म कोरोना खोप लगाइने भएको छ । स्वास्थ्य विभागको निर्णय बमोजिम बिहीवार बसेको कोभिड—१९ खोप समन्वय तथा अनुगमन समिति दार्चुलाको बैठकले १८ वर्षमाथिका पहिलो मात्रा लगाउन बाँकी सबै नागरिकलाई भेरोसेल खोप लगाउने निर्णय गरेको हो ।

जिल्लाका लागि ४० हजार डोज भेरोसेल खोप उपलब्ध भएकाले असोज १० गतेदेखि १४ गतेसम्म जिल्लाका सबै स्वास्थ्य संस्थाहरुबाट खोप दिइने कोभिड—१९ खोप समन्वय तथा अनुगमन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । यस्तै जिल्लामा जोन्सन एण्ड जोन्सन खोप मौज्दात रहेकाले सीमा नाका खलंगा झोलुङ्गे पुलमा केन्द्र रहने गरी खोपको उपलब्धताको आधारमा विदेशबाट स्वदेश फर्कने नागरिकलाई पनि खोप दिने निर्णय भएको उनले बताए ।

स्वास्थ्य कार्यालय दार्चुलाले खोप लगाउनका लागि आफ्नो परिचय खुल्ने परिचय पत्र लिएर जान समेत अनुरोध गरेको छ । दार्चुलामा ४० हजार १ सय ७० जनाले पहिलो र दोस्रो मात्रा खोप लगाइसकेका छन् ।