दृष्टिकोण समाचार, दार्चुला । भदौ ४ मलेसियामा आयोजना हुने एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि नेपाली टिम आज श्रीलंका जाँदैछ ।नेपाली टिमले त्यहाँको आर्मी क्रिकेट टिम, ब्लुमफिल्ड टिम र कोल्टस् टिमसँग अभ्यास खेल खेल्नेछ । अगस्ट २८ देखि मलेसियामा हुने एसिया कप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टिम बैदेशिक तयारीका लागि आज श्रीलंका जान लागेको हो ।नेपाली टिमलाई आज सभामुख कृष्णबहादुर महराले विदाई गर्नेछन ।नेपाली टिममा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार शाह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र आरिफ शेख छन् ।यस्तै सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल पनि टिममा छन् ।बैकल्पिक खेलाडीमा किशोर महतो, प्रदिप ऐरी, सुनिल धमला र सुशन भारी छन् । अभ्यास सकेपछि नेपाली टिम अगस्ट २७ मा त्यतैबाट मलेसिया प्रस्थान गर्नेछ ।एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङ्कङ्, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ६ टिम सहभागि टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले भारत र पाकिस्तानको सिनियर टिमको सामना गर्नेछन् ।