।दार्चुला जिल्लाकाे नाैगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्डमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई प्रसुती सेवा केन्द्र स्थापनाका लागि अनुमति प्राप्त भएको छ ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र सुण्डमुण्डमा आजकै मितिबाट लागु हुने गरी प्रसुती केन्द्र सञ्चालनको अनुमति प्राप्त भएको नौगाड गाउँपालिकाका योजना शाखा अधिकृत नरेन्द्र सिंह ठगुन्नाले जानकारी दिनुभयो । वडा कार्यालय सिफारिस तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रको पत्र अनुसार प्रसुती सेवा सञ्चालनको अनुमति दिइएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रितमसिंह ठगुन्नाले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकी नै रहेको नौगाड गाउँपालिका वडा नम्बर २ मा गत आर्थिक वर्षमा मात्रै अधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको थियो । नयाँ राज्य पुर्नसंरचना लागु भएपश्चात् वडा नम्बर २ सुण्डमुण्ड क्षेत्रका स्थानीयहरु स्वास्थ्य सेवाका लागि वडा नम्बर ३ मा जानुपर्ने बाध्यता थियो ।
गत आर्थिक वर्षमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरि त्यस क्षेत्रका नागरिकहरुको स्वास्थ्य सेवा सहज बनाइएको थियो । गाउँपालिकाले आजकै मितिदेखि लागु हुने गरी प्रसुती सेवा केन्द्र सञ्चालनको अनुमति दिएकाले अझै स्वास्थ्य सेवा सुलब र सहज हुने योजना शाखा अधिकृत ठगुन्नाको प्रतिक्रिया छ ।