चरित्र हत्या गर्ने गरि प्रकाशित समाचारप्रति ब्याँस गाउपालिकाको ध्यानाकर्षण

३ बर्ष अघि

२0७८ भाद्र ३१ बिहीबार

चरित्र हत्या गर्ने गरि प्रकाशित समाचारप्रति ब्याँस गाउपालिकाको ध्यानाकर्षण

दार्चुला ।  मंगलबार सुप्रिम खबर र विशेष पाटी अनलाईन खबरले प्रकाशित गरेको समाचारप्रति ब्याँस गाउपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । ति अनलाइनहरुले गाउँपालिका र गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीको चरित्र हत्या गरी भ्रामक र तथ्यहीन समाचार प्रकाशित गरेको भन्दै प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो । 

जिल्ला सदरमुकाम खलंगामा बुधबार गाउँपालिकाद्धारा आयोजित पत्रकार सम्मेलन गरी गाउँपालिकाले प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ । विज्ञप्तीमा भनिएको छ, राज्यको चौथो अंगका रूपमा रहेर जनतालाई सत्यतथ्य समाचार सम्प्रेषण गरी समाजलाई सुसूचित गर्ने संचार माध्यमको धर्म भुलेर कौडिको भावमा विक्री भई आफ्नो व्यक्तिगत स्वार्थ लाभको लागि कसैको चरित्र हत्या गर्नु कुनै पनि संचार माध्यम र संचारकर्मीको नैतिकताले दिदैन् । ति अनलाइनले सम्प्रेशण गरेका समाचारहरुमा भनिए जस्तो आफु कुनै दलको अध्यक्ष नभई सम्पुर्ण ब्याँसबासी जनताको जनप्रतिनिधि भएको गाउँपालिकाका अध्यक्ष बुढाथोकीले बताएका छन् । 

आफू निर्वाचित भएपछि ब्याँसका जनतालाई केन्द्रबिन्दुमा राखेर उपलब्ध स्रोत साधन र अधिकारको प्रयोग गरि गाउँपालिकालाई समृद्ध बनाउन र विकासका आधारस्तम्भ खडा गर्न व्यक्तिगत र दलिय स्वार्थ भन्दा माथि उठेर काम गरिरहेको अध्यक्ष बुढाथोकीले पत्रकार सम्मेलन मार्फत जानकारी गराए । ब्याँस गाउँपालिकाको आ।व २०७८÷०७९ को बजेट जनताको आवश्यकता, माग र समस्यालाई सम्बोधन गर्नेगरी नीति, नियम ऐन कानुन अनुसार नै बजेट निर्माण गरिएको तथा गाउँसभाबाट बजेट स्वीकृत गरिएको विज्ञप्तीमा उल्लेख छ ।
सुप्रिम खबर अनलाईन र विशेषपाटी अनलाईनको समाचारमा भनिए जस्तो मार्छु, काट्छु भनेर धम्की दिने कुराको आफूले कल्पनासम्म गर्न नसक्ने उल्लेख गरे । विज्ञप्ती मार्फत अध्यक्ष बुढाथोकीले कसैले मलाई डराएको, थर्काएको, धम्क्याएको छ भन्ने प्रमाण पेश गरे कडा कारबाही भोग्ने बताएका छन् । गाउँपालिका र अध्यक्षको चरित्र हत्या गर्ने गरी प्रकाशित गरिएका सूचना, समाचार तथ्यहीन भ्रामक र कपोलकल्पित भएको भन्दै प्रकाशन गर्ने मिडिया र सम्बन्धित पत्रकारलाई कानुनी कार्वाहीको माग गर्दछु विज्ञप्तिमा भनिएको छ ।

पत्रकार आचारसंहिता उल्लघंन गरी व्यक्तिगत मानमर्दन गर्ने पत्रकार र संचार माध्यमलाई आवश्यक कार्वाहीका लागि प्रेस काउन्सिलको ध्यानाकर्षण गराउन चाहन्छु गाउँपालिका अध्यक्ष दिलिप सिह वुढाथोकीद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ । काठमाण्डौँबाट संचालित ति दुवै अनलाईनले मंगलबार दार्चुलाको ब्याँसमा कांग्रेसका अध्यक्ष दिलिप बुढाथोकीको प्रधानपञ्चहरुको जस्तै दादागिरी, विरोधमा वडा अध्यक्षहरु शीर्षक दिएर समाचार प्रकाशित गरेको थियो ।