जनप्रतिनिधि र शिक्षक कर्मचारीको तलब विपद व्यवस्थापन कोषमा जम्मा गरिने

३ बर्ष अघि

२0७८ भाद्र ३0 बुधबार

जनप्रतिनिधि र शिक्षक कर्मचारीको तलब विपद व्यवस्थापन कोषमा जम्मा गरिने

दार्चुला  । दार्चुला जिल्लाको  दुहुँ गाउँपालिकाका जनप्रतिनिधि र शिक्षक कर्मचारीको तलब विपद व्यवस्थापन कोषमा जम्मा गरिने भएको छ ।  मंगलवार दुहुँ गाउँ कार्यपालिकाको बैठक बसेको छ । बैठकले विपदसँग सामना गर्न तथा जनजीवन सामान्य बनाउन कार्यपालिकाबाट विभिन्न निर्णय पारित गरेको गाउँपालिका प्रवक्ता एवं वडा नम्बर २ का अध्यक्ष गोविन्द सिंह डडालले जानकारी दिए । भदौ १३ गते आएको बाढी र पहिरोले दुहुँका नागरिक प्रभावित भएका छन् ।

गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले दुहुँ गाउँपालिकाका जनप्रतिनिधि र शिक्षक कर्मचारीहरुको ७ दिन बराबरको तलब विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता डडालले बताउनु भयो । यस्तै बैठकले दुहुँ गाउँपालिकालाई पुनर्निर्माण र पुनःस्थापना गर्न विशेष गाउँपालिका घोषणा गर्न प्रदेश तथा संघ सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

विस्थापित घरधुरीलाई पुनःस्थापन र पुनर्निर्माण गर्न जिल्ला विपद व्यवस्थापन समितिमार्फत प्रदेश र केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको हो । बाढीबाट क्षतविक्षत भएका सार्वजनिक संरचनाहरु पुनःनिर्माणका लागि प्रदेश तथा संघ सरकारलाई अनुरोध गर्ने तथा त्यसका लागि गाउँपालिकाको प्रतिनिधि मण्डल सम्बन्धित निकायसम्म जाने जनाइएको छ ।