दार्चुला । आज राष्ट्रिय बाल दिवस । ‘सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी ५७ औं राष्ट्रिय बाल दिवस मनाइँदैछ ।
नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।
नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा राखेको छ । पछिल्ला वर्ष विश्वव्यापी कोरोना महामारीका कारण बालबालिकाको नियमित पठनपाठनमा असर पुगेको छ ।
साथै दुर्गम गाउँ र बस्तीमा रहने बालबालिका अनलाइन कक्षाबाट वञ्चित हुनुपरेको अवस्था छ । अठार वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था हुन नसकेका कारण उनीहरू सङ्क्रमणको जोखिममा छन् ।
दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकालाई भविष्यका जिम्मेवार नागरिक बनाउनु राज्यको दायित्व भएको बताउनुभएको छ । उहाँले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न तीन तहका सरकार, अभिभावक, विद्यालय र समग्र समाजको जिम्मेवारी भएको उल्लेख गर्नुभयो । साथै बालबालिकालाई महामारीबाट सुरक्षित बनाउँदै बालअधिकारको संरक्षणमा आ–आफ्नो भूमिका निभाउन सबै पक्षको ध्यानाकर्षण गर्नुभएको छ ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोरोना विरुद्धको खोप दिन सरकार पूर्ण प्रयासरत रहेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना संदेशमार्फत उहाँले कोरोनाबाट प्रभावित बालबालिकाका लागि हरेक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शय्याको व्यवस्था गरिएको बताउनुभयो ।
महामारीको नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्रयास गर्न आवश्यक रहेकोमा प्रधानमन्त्री देउवाको जोड छ ।