दार्चुलामा दुइ जना बालकसहित ६ जनामा एन्टिजेन पोजेटिभ

३ बर्ष अघि

२0७८ भाद्र २९ मंगलवार

दार्चुलामा दुइ जना बालकसहित ६ जनामा  एन्टिजेन पोजेटिभ

दार्चुला । जिल्ला अस्पताल दार्चुलामा सोमबार दुई जना बालक सहित ६ जनामा एन्टिजेन पोजेटिभ देखिएको छ । जिल्ला अस्पताल दार्चुलामा गरिएको आठ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ६ जनामा लक्षण देखिएको हो । जिल्ला अस्पताल दार्चुलामा पुगेका अढाई वर्षीय र ४ बर्षीय बालकमा एन्टिजेन पोजेटिभ देखिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर आर्द्रश लिम्बुले बताउनुभयो । जिल्लामा बालकहरुमा कोरोनाको लक्षण देखिएको यो पहिलो केस हो । उनीहरुमा कोरोनासँग मिल्दोजुल्दा लक्षण सबै देखिएपछि एन्टिजेन परिक्षण गरिएको हो । बालबालिकामा रुघाखोकी, ज्वरो, लगायतका सबै लक्षण देखिएको छ । 


तेस्रो भेरियन्टले बालबालिकालाई बढि असर गर्ने जनस्वास्थ्य विद्ले भनिरहेको बेला जिल्लामा बालबालिकामा कोरोना देखिएको हो । अहिले जिल्ला अस्पतालमा दैनिक ८० देखि ९० जना ल्याब परिक्षणको लागि मात्रै विरामी आउने गरेका छन् । भाइरल ज्वराेका विरामी बढि देखिएका छन् । कोरोना बढ्ने लक्षणदेखिएसँगै जिल्ला अस्पतालले १० ब्याडसहितको आइसोलेसन ब्याड तयार गर्न थालेको डाक्टर लिम्बुले बताउनुभयो । अहिले पुन मौसममा आएको परिवर्तनको कारण पनि अस्पतालमा विरामीको भीड लागेको छ । अहिलेको अवस्थामा बालबालिका मात्र नभई सबैले सुरिक्षत बस्नुपर्ने अवस्था आएको स्वास्थ्यकर्मीले बताएका छन् ।