दार्चुलाका २ वटा स्थानीय तहहरुले आज बाट भैतिक रुपमा पढाई सुरु

३ बर्ष अघि

२0७८ भाद्र २७ आईतवार

दार्चुलाका २ वटा स्थानीय तहहरुले आज बाट भैतिक रुपमा पढाई सुरु

दार्चुला । जिल्ला सदरमुकाम खलंगाको महाकाली नगरपालिका र अपिहिमाल गाउँपालिकाले आज बाट स्वास्थ्य मापदण्डको पालना गरेर भौतिक उपस्थितिमा पठनपाठन शुरु गर्ने भएका छन् । महाकाली नगरपालिकाको महेन्द्र नमूना मावि खलंगाले नर्सरी देखि कक्षा ५ सम्मको कक्षा बिहान १० बजेदेखि र कक्षा ६ देखि १० सम्मको पढाई बिहान ७ बजे देखि साढे १० बजेसम्म पढाई हुने जनाएको छ । केहि विद्यालय भने यसअघि नै सञ्चालन भइसकेका छन् ।

अपिहिमाल गाउँपालिकाभित्रका सबै विद्यालयलाई आज बाट विद्यालय सञ्चालन गर्न सूचना जारी गरिसकेको साहयक प्रधानाध्यपक लक्ष्मण सिह बोहराले जानकारी दिनुभयो ।  नेपाल सरकारको स्मार्ट लकडाउन, शिक्षा मन्त्रलयले जारी गरेको विद्यालय सञ्चालन कार्यढाँचा २०७७ र डिसिसिएमसीको निर्णयलाई मध्यनजर गरेर पठनपाठन सुचारु गर्न लागिएको उहाँले बताउनुभयो ।
दार्चुलाका विभिन्न स्थानीय तहमा विद्यालय सञ्चालन भइसकेका छन् । गत साता जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सरकारले जारी गरेको स्मार्ट लकडाउनको पालना गर्दै पठनपाठन सुचारु गर्न सकिने निर्णय गरेको थियो । स्थानीय तह र विद्यालय व्यवस्थापन समितिको निर्णयका आधारमा पठनपाठन सुचारु गर्न सकिने निर्णय गरिएको प्रशासनले जनाएको छ । जिल्लाको लेकम गाउँपालिका, नौगाड गाउँपालिका, मार्मा गाउँपालिका लगायत अधिकासं गाउँपालिकामा पठनपाठन शुरु भइसकेको छ ।