दार्चुलाका अधिकांश स्थानीय तहका विद्यालयमा पढाइ सुरु गर्दै

३ बर्ष अघि

२0७८ भाद्र २५ शुक्रबार

दार्चुलाका अधिकांश स्थानीय तहका विद्यालयमा पढाइ सुरु गर्दै

दार्चुला । दार्चुला जिल्लाका अधिकांश स्थानीय तहका विद्यालयमा पढाई सुरु हुने भएको छ ।  जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयपछि स्थानीय तहहरू पठनपाठन सुचारु गर्ने तयारीमा जुटेका छन् । स्वास्थ्य मापदण्डको पालना गरेर पालिकाहरूले विद्यालय खोल्ने निर्णय गर्न थालेका हुन । सदरमुकाम खलंगाको महाकाली नगरपालिका र अपिहिमाल गाउँपालिकाले भदौ २७ गतेदेखि स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर भौतिक रूपमा पठनपाठन सुचारु गर्ने जनाएको छ ।

स्वास्थ्य मापदण्ड पालना गरेर अभिभावकको सहमतिअनुसार पठनपाठन सुचारु गर्ने निर्णय भएको विद्यालय जनाएको छ ।  महेन्द्र नमूना मावि खलंगाले नर्सरी देखि कक्षा ५ सम्मको कक्षा बिहान १० बजेदेखि र कक्षा ६ देखि १० सम्मको पढाई बिहान ७ बजे देखि साढे १० बजेसम्म हुने जनाएको छ । नगरपालिकाका संस्थागत तथा सरकारी विद्यालयहरु केही सुचारु भइसकेका छन् । 
अपिहिमाल गाउँपालिकाभित्रका सबै विद्यालयलाई भदौ २७ गतेदेखि सञ्चालन हुने जनाएको छ ।  शिक्षा मन्त्रलयले जारी गरेको विद्यालय सञ्चालन कार्यढाँचा २०७७ भित्र रहेर स्वास्थ्य मापदण्डको पालना गरेर पठनपाठन सुचारु गर्न सकिने निर्णयअनुसार विद्यालय खोल्ने निर्णय भएको खण्डेश्वरी मावि क्षत्तिका निमित्त प्रधानाध्यापक लक्ष्मणसिह बोहराले बताउनुभयो ।
यसैसाता जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले शिक्षा मन्त्रालयले जारी गरेको स्मार्ट लकडाउनको पालना गर्दै पठन पाठन सुचारु गर्न सकिने निर्णय गरेको थियो । स्थानीय तह र विद्यालय व्यवस्थापन समितिको निर्णयका आधारमा मात्रै पठनपाठन सुचारु गर्न सकिने निर्णयमा उल्लेख छ । उक्त निर्णयपछि स्थानीय तहहरू विद्यालय सञ्चालन गर्ने तयारीमा जुटेका हुन ।