दार्चुलामा बाढीपहिरोले तीन जनाको मृत्यु, दुई बेपत्ता

३ बर्ष अघि

२0७८ भाद्र १४ सोमबार

दार्चुला । दार्चुलाका विभन्न भेगमा आएको बाढि र पहिरोका कारण तीन जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन् । आइतबार राति आएको बाढिपहिरोमा परि दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको हो । पहिरोले घर पुरिदा दुहु गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमति कौशा महरको मृत्यु भएको छ । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले उनीहरू पुरिएर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले बताउनुभयो । यस्तै दुहु गाउँपालिकाको वडा नम्बर ५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको छ । कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डडाललाई घरैसहित बगाएको हो ।  बाढिले घरजग्गासहित पूल जलविद्युत, पानी घट्ट र पशुचौपापायामा समेत क्षति पुर्याएको छ । यो क्षेत्रमा पाँचवटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल पनि बगेको स्थानीयले बताएका छन् । त्यस्तै वडा नम्बर ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन् । निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की वेपत्ता भएको स्थानीय दिलिपसिह कार्कीले जानकारी दिनुभयो ।

निजाङगाडकै खोलाले दार्चुला–तिंकर सडक मोटरेबल पुल, दुइटा झोलुंगे पुल बगाएको छ । यो क्षेत्रम रहेका आधार्दजन घर तथा पसलहरु बगाएको छ । दार्चुला तिंकर सडक खण्डकिो निजाङगाड पुल बग्दा दुहँु र व्याँस गाउँपालिकाको सम्बन्ध विच्छेद भएको छ । दुहुँ ३ को श्रीवगडमा निजाङगाडले पूर्ण बहादुर बम, नरेन्द्र बहादुर बम, दिपक बम, रणबहादुर बम धिरेन्द्र बम, शेरबहादुर बमको घर बगाएको छ । यस्तै महाकाली नगरपालिका १ को श्रीबगडमा देव बहादुर बम, अमरबहादुर बम, सुन्दर बहादुर बम र जित बहादुर बमको होटल तथा पसल बगाएको छ ।  यस्तै निजाङगाड खोला नजिकै रहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेन्जपोष्ट भवनको आधा भाग बगाएको छ । अहिले घट्नास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीयहरु पुगेका छन् । राती २ बजेबाट आएको बाढिले श्रीबगडमा क्षेत्रमा खेतबारी नोक्सान गरेको छ ।

 वारीपारी जाने बाटो नहुँदा स्थानीयलाई उद्धारमा समस्या भएको छ । अहिले यो क्षेत्रमा तुइन लगाएर भए पनि समान सार्न सुरक्षाकर्मी परिचालन गरिदै छ ।  निजाङगाड खोलाले खानेपानीको मुहान र पाइप बगाए पछि श्रीवगड क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । राती दुई बजे देखि स्थानीयले पानी खान पाएका छैनन् ।  वानाला खानेपानी योजनाबाट महाकाली नगरपालिका १, श्रीवगड र दुहुँ गाउँपालिका ३ श्रीवगडमा खानेपानी ल्याइएको थियो । महाकाली नगरपालिकाको श्रीवगडमा ४० परिवारको बसोबास छ भने दुहुँको श्रीवगडमा १५ परिवार बस्दै आएका छन् । अहिले गाउँमा पानी नभए पनि समस्या भएको स्थानीय मानबहादुर बमले बताउनुभयो ।