सुदूरपश्चिमेलीहरुको महान् पर्व गौरा पर्व आजदेखि सुरु, यसरी मनाइन्छ गौरा पर्व

३ बर्ष अघि

२0७८ भाद्र ११ शुक्रबार

सुदूरपश्चिमेलीहरुको महान् पर्व गौरा पर्व आजदेखि सुरु, यसरी मनाइन्छ गौरा पर्व

दार्चुला । सुदूपश्चिमेलीहरुको महान् पर्व गौरा पर्व विधिवत् रुपमा आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि सुरुवात् हुने गौरा पर्व यो वर्ष आजदेखि सुरु भएको छ । मुख्य गरी शिवर पार्वतीको पूजापाठ गरी शिव गौरीको विवाहको सम्झानामा गौरा पर्व मनाउन थालिएको बुढापाकाहरुले बताउने गरेका छन् ।
सुदूरपश्चिमेलीहरुको महान् पर्वको रुपमा मनाइने गौरा पर्वको पहिलो दिन महिलाहरुले गौरा घर गौँरे खलो मा तथा घर–घरमा तामाको भाँडामा बिरुडा भिजाएर गौरा पर्वको सुरुवात् भएको छ । बिरुडा भन्नाले पच नाज अर्थात् पाँच प्रकारका अन्न केराउ, गहत, गुँरास, गहुँ, कालो मास लाई बिरुडा भन्ने चलन छ । यो वर्षको पहिलो दिन बिरुडा भिजाई सुदूपश्चिमेलि महिलाहरुले गौरा पर्वको सुभारम्मभ गरेका छन् । गौरा पर्वको पहिलो दिन महिलाहरुले ब्रत बसेर तामाको भाडाँमा सफा पानीले बिरुडा भिजाएर मनाउने चलन सुदूरपश्चिमेली समाजमा छ । हरेक कृष पक्षमा पर्ने गौरालाई अधेरी गौरा र शुक्लपक्षमा पर्ने गौरा पर्वलाई उजेली गौरा भन्ने चलन रहेको लेकम गाउँपालिका वडा नम्बर ५ का स्थानीय जानकी खत्रीले बताए । त्यस्तै तिथि बढेमा बाटो गौरा र घटेमा धोइ गौरा भन्ने प्रचलन रहेको उहाँको भनाई छ । यो वर्षको गौरा पर्व कृष्ण पक्षमा परेकाले अधेरी अनेरी गौरा भनिन्छ । पञ्चमीका दिन भिजाएको बिरुडा दोस्रो दिन षष्ठीका दिन पानीको मुहान तथा धारामा गई सामूहिक रुपमा धोएर गौरा देवीको प्रतिस्थापन गरि गौरा पर्व मनाउने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देबीलाई गौरा घर तथा मन्दिरमा भित्र्याएर आ–आफ्नो चलन अनुसार पूजापाठ गरी विबाहित महिलाहरुले दुबधागो चढाउने परम्परा छ । यस्तै अष्टमीका दिन बर्त बसेर महिलाहरुले विहानै देखि गौरा पर्व मनाउने स्थल गौरा खलोमा पूजापाठ गर्ने गरेका छन् । अष्टमीका दिनलाई मुख्य गरी गौरा पर्वको रमाईलो दिनका रुपमा लिइन्छ । मुख्य गरी गौरा देवीको प्रतिमा निर्माण गरी गौरा देबीको पूजापाठ गरि मनाउने तथा रमाईलो गर्ने भएकाले पनि त्यो अन्य दिनको भन्दा गौरा पर्वको महत्वपूर्ण दिनका रुपमा लिइन्छ । सोही दिन साँझ चढाएको दुबधागो अभिषेक गरेर पूजापाठ गरी खाना खाने चलन छ । महिलाहरुले प्रसादको रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यहरुको टाउको पुज्ने र निधारमा बिरुडा थापिदिने चलन रहेको छ । आ–आफ्नो परम्परा अनुसार गौरा देबीको सेलाउने गरिन्छ । कुनै ठाउँमा अष्टमीका दिन गौरा देवीको प्रतिमा सेलाउने चलन छ भने कुनै दिन अष्टमीको भोली पल्ट साइत जुराएर प्रतिमा सेलाउने प्रचलन छ । मुख्य गरी सुदूरपश्चिमको दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, बझाङ, बाजुरा, अछाम, डोटी कैलालीमा गौरा पर्व मनाउने चलन छ । यस्तै कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा समेत गौरा पर्व मनाइन्छ भने पछिल्लो समय राजधानी काठमाण्डौँमा समेत गौरा पर्व मनाउन थालिएको छ । गौरा पर्व मनाइने जिल्लाबाट बसाई सरी काठमाण्डौँ बस्ने हिन्दु नारीहरुले राजधानीमा पनि गौरा पर्व मनाउन थालेका हुन् । शिव र गौरा देबीको प्रेम तथा विबाहको सम्झनामा महिला पुरुषहरुले सुदूरपश्चिमेली डेउडा खेल्ने चलन छ  । यस्तै देश विदेशमा रहेकाहरु पनि गौरा पर्वका लागि घर फर्किने चलन सुदूरपश्चिमेली समाजमा छ । गौरा पर्वलाई दशैतिहारको जतिक्कै महत्वका साथ मनाइने भएकाले पनि देश विदेश तथा घर बाहिर रहेकाहरु पनि गौरा पर्वका लागि घर फर्किने गरेका छन् । मुख्य गरी भारतीय नाकाबाट दैनिक सयौँको संख्यामा नेपालीहरु घर फर्किने गरेका छन् । केही दिनदेखि सीमा नाकाहरुबाट तथा तराईबाट घर फर्किनेहरुको संख्या बढेको छ ।