दार्चुला तुइन प्रकरण ः छानबिन समितिको म्याद तेस्रो पटक थपियो

३ बर्ष अघि

२0७८ भाद्र ९ बुधबार

दार्चुला तुइन प्रकरण ः छानबिन समितिको म्याद तेस्रो पटक थपियो

दार्चुला । सरकारले तुइन घटनाको छानबिन गर्न गठित समितिको म्याद तेस्रो पटक थप गरेको छ । साउन १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिलाई १० दिनभित्र सत्यतथ्य पत्ता लगाइ राय सुझावसहितको प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको थियो । तर, तोकिएको समयमा प्रतिवेदन पेस नभएपछि गृह मन्त्री बालकृष्ण खाँणले साउन २५ गते पहिलो पटक एक साताको म्याद बढाउनुभएको थियो । पहिलो पटक थपिएको अवधिमा पनि काम नसकिएपछि दोस्रो पटक एक साता म्याद थप गरिएको थियो । दोस्रो पटकको म्याद समेत मंगलबार सकिएपछि भदौ १५ गतेसम्मका लागि तेस्रो पटक समितिको म्याद थपिएको गृह मन्त्रालयले जनाएको छ ।

साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका २ मालाघाटस्थित महाकालीबाट तुइन तरेर भारतको गस्कु जाने क्रममा एसएसबीले लठ्ठा फुस्काएपछि ३३ वर्षीय नेपाली जय सिंह धामी बेपत्ता भएका थिए । तुइनको लट्ठा भारतीय एसएसबीले काटिदिएको भन्दै स्थानीयले कारबाहीको माग गर्दै आएपनि न छानबिन समितिले सत्यतथ्य बाहिर ल्याएको छ न स्थानीय प्रहरीले घटनामा संलग्‍नलाई पहिचान नै गर्न सकेका छन् । लट्ठा खुस्काएर भागेका एसएसबीका जवानमाथि अनुसन्धान गर्न माग गरिएपनि भारतीय प्रशासनले संलग्‍नताबारे अस्वीकार गर्दै आएको छ । जयसिहको खोजिका लागि महाकाली क्षेत्रमा ड्रोन क्यामेरा उडाउन समेत भारतले सहमति नदिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । 
सरकारले साउन १७ गते सहसचिव गौतम नेतृत्वको छानबिन समितिमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी छन् । श्रेष्ठ र भट्ट बिदामा भएकोले प्रतिवेदन तयार पार्न झनै ढिलाइ भएको समितिले जनाएको छ ।

सरकारी समितिले भारतीय पक्षले तुइनको लट्ठा खुस्काइदिएकाले व्यास गाउँपालिका–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकाले पनि सरकारलाई प्रतिवेदन पेस गर्न सकेको छैन । प्रतिवेदन नबुझाउदै व्याक्तिगत कामका लागि भन्दै दुई जना टोली सदस्य बिदामा बसेपछि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । अनुसन्धान चलिरहेकै बेला समितिका एक जना सदस्य भारतको दिल्ली पुगेको सूचनाहरु समेत सार्वजनिक भएका छन् ।