दार्चुला तुईन प्रकरण ः छानबीन समितिलाई सात दिन म्याद थप

३ बर्ष अघि

२0७८ श्रावण २६ मंगलवार

दार्चुला तुईन प्रकरण ः  छानबीन समितिलाई सात दिन म्याद थप

दार्चुला ।दार्चुला जिल्लाकाे ब्याँस गाउँपालिका मालमा भएको तुइन घटनाको छानबीनका लागि गठित छानबीन समितिको टोलीलाई प्रतिबेदन बुझाउन सात दिन म्याद थपिएको छ ।गृह मन्त्रालयले गठन गरेको छानबीन समितिलाई घटनाको प्रतिबेदन तयार पार्ने म्याद थप गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले जानकारी दिनुभयो । गृह मन्त्रालयले माल घटनाको अनुसन्धानका लागि सहसचिव जर्नादन गौतमको नेतृत्वमा साउन १७ गते पाँच सदस्यीय छानबीन समिति गठन गरेको थियो ।
गौतम नेतृत्वको छानबीन समितिको टोली साउन १९ गते जिल्ला पुगि प्रत्यक्षदर्शी, जनप्रतिनिधि, राजनीतिक दल, मानवअधिकारकर्मी तथा पत्रकारहरुसंग घटनाबारे जानकारी लिएकोे छ । टोलीले घटनास्थलको नेपाल–भारत दुबैतर्फ स्थलगत अवलोकन अध्ययन पनि गरिसकेको छ ।
१० दिनभित्र घटनाको प्रतिबेदन बुझाउने जिम्मेवारी दिई टोली जिल्ला पठाएको थियो । छानबीन समितिको टोली सोमबार दार्चुलाबाट फर्किएको छ । छानबीन समितिलाई गृह मन्त्रालयले दिएको १० दिनको म्याद आज सकिएको छ । तर गृहले दिएको म्याद आज सकिएपनि टोलीले प्रतिबेदन बुझाउन सकेको छैन ।
छानबीन समितिले १० म्याद मागेकोमा गृह मन्त्रालयले ७ दिनको म्याद थप गरेको मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । ‘समितिले १० दिनको म्याद मागेको थियो, हामीले सात दिन म्याद थप गरेका छौँ’ प्रवक्ता पोखरेलले भन्नु भयो । सुरुमा १० दिन म्याद दिइएकोमा अझै समितिले १० दिन म्याद थप गर्न अनुरोध गरेपनि ७ दिन म्याद थप गरिएको उहाँको भनाई छ ।
साउन १५ गते भारतको बाटो भएर खलंगा आउने क्रममा तुइन तरिरहेकै बेला भारतीय एसएसबीले तुइन फुकालिदिदाँ ब्याँसका स्थानीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीको भनाई छ । महाकाली नदीमा बेपत्ता भएको एघारौँ दिनपनि धामी फेला परेका छैनन् ।