खार–खलंगा सडक खण्ड खुलाउने कार्य सुरु

३ बर्ष अघि

२0७८ श्रावण २६ मंगलवार

खार–खलंगा सडक खण्ड खुलाउने कार्य सुरु

दार्चुला । देथला–खार–खलंगा सडक खण्ड खुलाउने कार्य सुरु भएको छ । नौगाड गाउँपालिकाको कार्यपालिकाको  बैठकले सडक खुलाउने निर्णय गरेसंगै सोमबारदेखि सडक खुलाउने कार्य सुरु भएको गाउँपालिकाले जनाएको छ ।  गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीको अध्यक्षतामा बसेको गाउँकार्यपालिका बैठकले उक्त सडकको होपरीगाडदेखि दल्लेसम्म सडक सञ्चालन गर्न निर्णय गरेको हो । गत असार २४ गते आएको बाढी पहिरोका कारण देथला–खार–खलंगा सडक पूर्ण रुपमा अबरुद्ध भएको थियो । मुख्यगरी होपरीगाडदेखि दल्लेख क्षेत्रमा बढी क्षति भएको थियो ।  असार २४ गतेको बाढी पहिरोले अबरुद्ध भएको सडक खुलाई यातायात सेवा सहज बनाउने गाउँपालिकाले लक्ष्य लिएको छ । सुकाखोलादेखि होपरीगाडसम्मको सडक मर्मत तथा विभिन्न स्थानमा खसेको पहिरो पन्छ्याई सडक सञ्चालन भइरहेको छ । थप होपरीगाडदेखि दल्लेखसम्मको सडक खण्डमा खसेको पहिरो पन्छ्याउने र मर्मत गरी सडक सञ्चालन गरी यातायात सहज बनाइने गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताउनु भयो । गाउँकार्यपालिकाले निर्णय गरेसंगै आजैदेखि होपरीगाडबाट सडक खुलाउने प्रयास भइरहेको छ । पहिरो खसेको क्षेत्रमा जेसिबी तथा कामदार लगाएर सडक खुलाउन थालिएको हो ।दल्लेखसम्म सडक खुलाईएपनि दल्लेख–खलंगा सडक झन् क्षति भएको छ । खलंगा–दल्लेख सडक खण्डको ठाउँ–ठाउँमा ठूलो पहिरो खसेकाले सञ्चालन गर्न समय लाग्ने देखिएको छ । महाकाली नगरपालिका क्षेत्रमा पर्ने सडक खण्डमा पहिरो खसेको छ । नौगाड गाउँपालिकाले दल्लेखसम्म सडक सञ्चालन गरेपनि महाकाली नगरपालिका क्षेत्रमा खसेको पहिरो पन्छ्याए मात्रै सदरमुकाम खलंगासम्म सडक सुचार हुनेछ ।