माल घटनाको छानबीनका लागि दार्चुला आएको छानबीन टोली फर्कियो

३ बर्ष अघि

२0७८ श्रावण २५ सोमबार

माल घटनाको छानबीनका लागि दार्चुला आएको छानबीन टोली फर्कियो

दार्चुला । दार्चुला जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर २ माल घटनाको अध्ययन अनुसन्धानका लागि जिल्ला आएको गृह मन्त्रालयको छानबीन समितिकोे टोली आज फर्किएको छ । माल घटनाको अध्ययनका लागि गृह मन्त्रालयले सह–सचिव जनार्दन गौतम नेतृत्वको पाँच सदस्यीय छानबीन समिति गठन गरेको थियो । समितिको संयोजक गौतमको नेतृत्वको छानबीन समितिमा सदस्यहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक डिआइजी पुरुषेत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य रहेका थिए । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी बाहेक चार जनाको टोली साउन १९ गते जिल्ला सदरमुकाम खलंगा आइपुगेको थियो । छानबीन समितिको टोलीले घटनाका प्रत्यक्षदर्शी तीनै जनासंग घटनाबारे बयान तथा जानकारी लिइसकेको छ । छानबीन समितिको टोली जिल्ला आउने भएपछि प्रत्यक्षदर्शीहरुलाई साउन १८ गते नै जिल्ला सदरमुकाम खलंगा बोलाइएको थियो । छानबीन समितिले प्रत्यक्षदर्शीहरुसंग बयान लिइसकेपछि जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, मानवअधिकारकर्मी तथा पत्रकारहरुसंग समेत माल घटनाका बारेमा जानकारी लिएकोे थियो ।  प्रत्यक्षदर्शीदेखि सरोकारवालाहरुसंग घटनाका बारेमा जानकारी लिइसकेपछि साउन २१ गते घटनास्थलको भारततिर स्थलगत अवलोकन तथा अध्ययन गरेको थियो । घटनाको आरोप लागेको संगठन एसएसबीकै अधिकारीहरुको साथमा छानबीन समितिको टोली घटनास्थल गस्कु गएको थियो । दोस्रो दिन साउन २२ गते नेपालतिरको घटनास्थल मालघाट तथा बेपत्ता धामीको घरमै पुगि पीडित परिवारसंग समेत घटनाका बारेमा जानकारी लिएकोे थियो । नेपालतिर मालसम्म पुग्ने बाटो नहुदाँ हेलिकप्टर प्रयोग गरि छानबीन समितिको टोली माल पुगेर घटनाको अध्ययन गरेको थियो । दुबैतिरकोे स्थलगत अवलोकन, प्रत्यक्षदर्शीहरुसंगको बयान तथा सरोकारवालाहरुसंग घटनाबारे जानकारी लिइसकेपछि छानबीन समितिको टोली आज जिल्लाबाट फर्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले बताउनु भयो ।  बेपत्ता भएका दशौँ दिन पनि जयसहि धामीको खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले बताउनु भयो । नेपालतिर सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरिरहेका छन् भने भारतबाट भारतीय एसएसबीले महाकाली नदी किनारमा खोजी कार्य जारी राखेका छन् । जौलजीबिदेखि कालागाडसम्म खोजी गर्दा फेला पार्न नसकिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी चन्दको भनाई छ । ‘हामीले जौलजीविदेखि कालागाडसम्म खोजी सक्यौँ तर फेला पार्न सकिएन’ चन्दले भन्नु भयो ।  नेपाल तिर नेपाली सुरक्षाकर्मी र भारततिर घटनाको आरोप लागेको संगठन एसएसबीले पनि खोजी कार्य गरिरहेको भारतीय पत्रकारहरुले बताएका छन् । व्यास गाउँपालिका २ मालदेखि महाकाली नगरपालिकाको खलंगा क्षेत्रसम्म सुरक्षाकर्मीले निरन्तर खोजी कार्य जारी राखेका छन् ।  दश दिनसम्म खोजी कार्य गर्दा पनि धामी फेला पर्न नसकेपछि ड्रोन क्यामेराको प्रयोग गरेर पनि खोजी कार्य गर्ने तयारी गरिएको छ । प्रहरी प्रधान कार्यालयबाट ड्रोन विज्ञको दुई जनाको प्रहरी टोली हिजो दार्चुला पुगेको छ । सीमा नदी भएकाले ड्रोन क्यामेरा प्रयोगका लागि भारतीय पक्षलाई पत्राचार गरिएको प्रहरी निरीक्षक चन्दको भनाई छ । कालागाड भन्दा माथिल्लो भीर चट्टान रहेको महाकाली नदी क्षेत्रमा ड्रोन क्यामेराको प्रयोग गरी धामीको खोजी गर्ने कार्य भइरहेको छ ।