खगेश्वर बुढा (ज्योती) दृष्टीकोण समाचार दार्चुला ।
माहिना दिन भन्दा बढी भयो– महिलाको कमजोर सामाजिक सुरक्षाको स्थितिबारे दिन दिनै पिरोलिदै बसेको । तर, त्यसका लागि अत्यावश्यक तथ्यांक चाहिंदा पनि बलात्कारका अधिकांश समाचारका शीर्षक बाहेक अरू पढ्न सकेको छैन । किनकि बलात्कारका समाचारले मलाई सारै दुखि बनाउदछ । त्यसको बिभत्सता सम्झेर भित्रसम्म कहाली लाग्छ, एकदुई दिन होइन कैयौं दिन । छोरी भएर जन्मेर आफ्ना लागि सधैंभरि बिहान घाम नचर्कुन्जेल र सूर्यास्तपछिको समयमा अघोषित कफ्र्यु लागेको समाजमा हुर्कें । म बुझने भए देखि आजसम्म घाम झलमल नहुन्जेल घरबाट निस्कन नसकेको र साँझ परेपछि छिटै घर फर्केर्नु पर्छ भन्ने मानसिकताले अझै डेरा जमाएको छ। मनमानि गरेर बसिराछ भन्दा फरक नपर्ला । किनकि यो समाजले अझै म जस्ता धेरैलाई अझै सुरक्षित गर्न नसकेको भन्ने मेरो भ्रमलाई जिउँदो राखेको छ । पुस्तौं बित्दा पनि उस्तै रहिराख्ने यो डरको शृंखला डरलाग्दो छ ।
‘बलात्कार त हिम्मत नभएकाहरूको मात्रै हुन्छ,’ जस्तो आशयले लेखिएका पोस्ट, लेख वा बलात्कारबाट बच्ने आत्मरक्षाका टिप्सहरूले झनै बिथोल्छन । झोलुंगोमा सुतेकी दूधे बच्चीले कसरी देखाउने हिम्मत ? बोल्न नसक्ने सुस्त मनस्थितिकी किशोरीलाई केही महिनाअघि मात्रै गाडीका चालक–सहचालकहरूले पन्ध्र दिनसम्म कैदमा राखेर पालैपालो बलात्कार गरेको समाचारले झन मानसिकतालाई तहसनहस बनाई दियो । कोठामा थुनेर, पिसाबसमेत बोतलमा गर्न लगाइएर पचासौंपटक बलात्कार गरिएकी उनले कसरी अपनाउने आत्मरक्षाका टेक्निक ? उल्टो उनले भएभरको हिम्मत प्रयोग गरेर भागेर जसलाई घरसम्म र्पुयाइदिन अनुरोध गरिन उसैले अघाउन्जेल बलात्कार र्गयो र फेरि पहिलो बलात्कारीलाई नै बुझाइदियो । त्यस्तै कंञ्चनपुरमा गत साउन १० गते साथीको घरमा पढ्न गएकी १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शवफेला पर्नु । समाज हिम्मतिला र बलियाबांगाको मात्र होइन । दौडिन, भाग्न, झगडा गर्न नसक्ने बालिकाको, बोल्नै नसक्ने, प्रतिरक्षा गर्नै नसक्ने शारीरिक–मानसिक विकलांग र दृष्टिविहीनहरूको पनि हो । उनीहरूका लागि पनि उत्तिकै सामाजिक सुरक्षाको प्रत्याभूति हुनुपर्ने हो । बलात्कारीले महिलाको छाती, नितम्ब, योनी मात्र होइन आत्मविश्वास र आत्मामा समेत प्रहार गर्छ ।
नेपालमा हरेक दिन औसत तीनजना महिला बलात्कृत हुने गरेका छन् । अन्य दुई महिलामाथि बलात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् ।
बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तथ्यांक छ । बलात्कार प्रयासका घटना झन् बढी अर्थात् हरेक वर्ष १६ प्रतिशतका दरले बढेको छ । बलात्कारीको निसानामा धेरैजसो बालिका पर्ने गरेको प्रहरी तथ्यांकले देखाउँछ । नेपाल प्रहरीको तथ्यांकअनुसार बलात्कृत हुनेमा सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेरका बालिका छन् । त्यसपछि १० वर्षमुनिका बालिका छन् । बालिका र किशोरी मात्रै होइन, वृद्धासमेत बलात्कारको सिकार भएका छन् । यस्ता तथ्यपरक समाचार पढिरहदा म जस्ता हामीलाई यो समाजले कहिले सुरक्षा दिने कहिले अन्तय होला ?
महिनौं–वर्षाैं एकअर्कासँग अन्तरंग रहेका पार्टनर वा पतिपत्नीबीच कसैले नदेख्ने गरी हुने यौनसम्पर्कमा समेत व्यक्त हुने असहमति र असहजतालाई सम्बोधन गर्ने (वैवाहिक बलात्कारसमेतको) कानुन भएको देशमा बस्ने हामीले बलात्कारबारे हलुका टिप्पणी कसरी गर्न सक्छौं ? सार्वजनिक ठाउँहरूमा कसैले शरीरमा छुँदा कैयौं दिनसम्म दिगमिग लाग्ने अनुभव हामीले हाम्रा दिदि आमाले वर्षाैंदेखि गरिरहेका छौं, छन । यस्तोमा हामी खुला सडकमा, खेतमा, बिनाकुनै गोपनीयता, धेरै व्यक्तिहरूले कसैको शरीरमाथि बिनाअनुमति, भौतिक आक्रमण पनि दिन दिनै भइरहदा अन्जान जस्तै बस्नु पर्ने ।
हरेक दिनजस्तो भइरहेका बालिका बलात्कारका घटना हेर्न–सुन्न आजकल रेडियो, टीभी र पत्रपत्रिका कुर्नुपर्दैन । मोबाइल फोनको स्क्रिनमा हरेक दुई मिनेटजस्तोमा हेर्दिन भन्दा पनि आँखैमा ठोक्किन आइपुग्छन । यस्तोमा जब ११ वर्षकी छोरी आफ्नो ६ कक्षाको विज्ञान किताबमा भएको स्त्री प्रजनन प्रणालीको पाठका चित्रहरू देखाएर प्रश्न सोध्छे त्यतिखेर बलात्कारका घटनाले लगाउने कहाली कैयौं गुणा बढ्छ ।
आफ्नो शरीरका अंगहरूसमेत चिन्न नभ्याइसकेका बालिका आफूमाथि यो जघन्य हिंसा कसरी सहन्छे भन्ने कुराले उकुसमुकुस हन्छ । ती आमाबाबुले छोरीको क्षतविक्षत मृत शरीर कसरी उठाएर लैजाँदा हुन् । जसरी मेरी आमाले मलाई तेल घसेर हुर्काईन बोकेर खाना पकाईन राति पिसाबको ढापमा आफू सुतेर छोरीलाई ओभानोमा सारेर जतनसाथ सुताईन सामान्य बिरामी हुँदा पनि रातभरि जाग्राम बसेर कुन लुगा लगाउँदा मेरी छोरी कत्तिकी राम्री वा ठूली देखिई भनेर जति बेर हेर्दा पनि नअघाएका थिए होलान ।
वंश र अंशमाथि छोरीको अधिकारको वकालत गर्न पनि भ्याउछ मेरो समाजले । समानान्तर रूपमा बलात्कारविरुद्ध लेख लेख्ने वा जोडतोडले स्टाटस ठोक्ने काम पनि बिराउँदैन । अब हामीले आफ्नै चेतनालाई प्रश्न गर्नुपर्ने बेला भएको छ ।
महिलामाथि हुने हरेक खालका हिंसाका घटना र विभेदयुक्त टिप्पणीको विरोधमा हामी आबद्ध कुनै संघ सस्था राजनीतिक दल, जात, वर्ग, लिंग र समुदायको घेरा तोडेर विरोध गरिरहेका महिला वा पुरुष देख्दा कम्तीमा सामाजिक सञ्जालमै सही एउटा ‘क्रिटिकल मास’ को उपस्थिति छ भन्ने कुराले अलिकति विश्वसत बनाउँछ ।
संसारका जति पनि देशमा महिलाको अवस्था उन्नत छ वा त्यहाँका कानुनहरू महिलामैत्री छन् भनेर हामी पढ्छौं–सुन्छौं ती देशहरू त्यस्तो हुनुमा त्यहाँका सबै जनसंख्या असाध्य अहिंस्रक र महिलामैत्री भएर त पक्कै होइन होला । शिक्षामा, सामाजिक व्यवहारमा र कानुनहरूमा ती देशहरूले अपनाएका प्रगतिशील प्रावधानहरूका कारण होलान । ती सबै चीजको व्यवस्था गर्नका लागि नीतिनिर्माण तहमा मुद्दाको संवेदनशीलता बुझेका व्यक्तिको उपस्थितिले पनि सम्भव भयो होला । हाम्रो देशमा यो सबै छैन । जघन्य बलात्कार गरेकोमा दोषी ठहरिएकालाई खुला छोडिदिएका छन । हिंसाको पृष्ठभूमि बनाउन अप्रत्यक्ष जिम्मेवार साहित्य, संगीत वा सार्वजनिक टिप्पणी बन्द हुनेगरी कसैको सोच परिवर्तन हुन लामो समय लाग्ला । तर, यो परिवर्तनको दिशामा बहसलाई मोड्ने काम भने तुरुन्तै गर्न सकिने काम हो । सञ्चार र सञ्जालको उपलब्धताले हामीलाई घटनामाथि प्रतिक्रियात्मक बनाएको छ । त्यो कुनै नराम्रो कुरा भएन तर सुरक्षित समाजको पृष्ठभूमि तयार पार्ने दिशामा कम्तीमा हामी लेख्नरबोल्न जान्नेहरूले आवाज उठाउन सक्नु झन् बढी राम्रो कुरा होला ।