दार्चुला बजारका पशलहरुमा मूल्य सुचि छैन्, मासुको मूल्य हालसम्मकै उच्च

३ बर्ष अघि

२0७८ श्रावण १९ मंगलवार

दार्चुला बजारका पशलहरुमा मूल्य सुचि छैन्, मासुको मूल्य हालसम्मकै उच्च

कृष्ण धामी, १९ साउन दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगा बजारमा रहेका अधिकाँश पशलहरुमा मूल्य सुचि नराखेर मनलाग्दी मूल्य असुलेर सामान खरिद विक्रि भईरहेको छ । कोभिड–१९ कोरोना भाईरस संक्रमणका कारण दुई पटक बन्द रहेको बजार पछिल्लो समय खुलेको छ । अझै पनि निर्वाध रुपमा चहलपहल नबढेपनि प्राय जसो बजार खुलेको छ । 
दार्चुला बजार क्षेत्रका पशलहरुमा मूल्य सुचि बिना नै व्यापारीहरुले सामानको मूल्य तोकेको पाइएको छ । खास गरी दार्चुला जिल्लामा पछिल्लो समय मासुको मूल्य आकाशिएको छ । एक महिना अगाडि ४ सय ५० मा पाईने कुखुराको मासुको मूल्य प्रतिकिलो डेडसय रुपैँयाले बढेर ६ सयमा कारोबार भईरहेको छ भने खसीको मासुको मूल्य ८ सय रुपैँयामा कारोबार भईरहेको छ । 
त्यसैगरी दैनिक उपभोग्य बस्तु दाल चामल, खानेतेल, तरकारीको मूल्यमा पनि एकरुपता छैन । मोटो चामल ५० देखि ५५, मसिनो चामल ७० देखि ७५, दाल अरहर १ सय ६० देखि २ सय, मल्का १ सय ५० देखि १ सय ८०, मास १ सय ६० देखि १ सय ७० सम्म खानेतेल प्रतिलिटर २ सय ५० देखि ३ सय रुपैँयामा कारोबार भईरहेको छ । 
तरकारी जन्य बस्तुमा प्याजको मूल्य ७० देखि ८० रुपँैया, गोलभेडा ८० देखि ९०, आलु ४५ देखि ५० रुपँैया प्रतिकिलोग्राममा विक्रिवितरण भईरहेको छ । त्यस्तै अण्डा प्रतिगोटा १५ देखि २० रुपँैया, चिनि एक सय रुपैँया देखि १२० रुपैँयामा कारोबार भईरहेको छ । 
दार्चुला बजारमा रहेका सैलुन पसलहरुमा पनि मूल्य आकासिएको स्थानीयहरुले बताएका छन् । दाह्री कपाल काटेको १ सय ५० रुपैँया लिने गरेका छन् ।
बजार अनुगमन  फितलाे
सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालले बजार अनुगमन गर्ने कानुनी व्यवस्था रहेको भएपनि दार्चुलामा चाडपर्व तथा गुनासो आएको बेला मात्रै बार अनुगमन गर्ने गरेको पाईएको छ । बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्यबस्तु नष्ट गर्ने बाहेक कुनै व्यापारीलाई कार्वाही गरेको पाईदैन । मूल्यसुचि नराख्ने पशले, खाद्यबस्तुको म्याद नाघेको, व्यवसायिक कर तिरे नतिरेको हेर्ने बाहेक त्यस्तो अवस्था फेला परेमा सम्झाई बुझाई गर्ने बाहेक कार्वाही तथा जरिवाना नहुँदा बजार अनुगमनले कुनै परिवर्तन नल्याएको गुनासो छ । 
मूल्यमा एकरुपता छैन
दार्चुला जिल्ला सदरमुकाम क्षेत्रमा रहेका झण्डै ४÷५ सय पशलहरुमा समानको मूल्यमा एकरुपता छैन् । पशलै पिच्छे समानको मूल्य फरक रहेको छ । दार्चुला जिल्लाका मूख्य बजारहरु बंगाबगड, बिच बजार र गल्फै बजारमा रहेका पशलहरुमा समानको मूल्य फरक फरक रहेको छ । मूख्य रुपमा भारतीय बजार धारचुलाबाट आउने विभिन्न समानहरु नेपाल पुग्दा कसैले प्रीन्ट मूल्यमै समान बेच्ने गरेका छन् भने कसैले भाडा जोडेर मूल्य भन्दा ५ देखि १० रुपैँया बढी पैसा लिने गरेको पाईएको छ ।
जिम्मेवारी कसको ?
स्थानीय प्रशासन, स्थानीय सरकार, उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग विकास समिति, उपभोक्ता हित संरक्षण मञ्च जस्ता निकायहरु भएर पनि उपभोक्ताहरु ठगिनेक्रम रोकिएको छैन् । तर यस सम्बन्धमा सबैले आफ्नो जिम्मेवारीबाट पञ्छिने र अरुलाई दोष दिने बाहेक जिम्मेवारी बोध गरेको पाईएको छैन् ।