तुईन तर्ने क्रममा एक जना बेपत्ता

३ बर्ष अघि

२0७८ श्रावण १५ शुक्रबार

तुईन तर्ने क्रममा एक जना  बेपत्ता

दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर– २ मालमा तुईन तर्ने क्रममा एक जना महाकाली नदीमा बेपत्ता भएका छन् । शुक्रबार विहान गाउँबाट दार्चुला सदरमुकाम आउनका लागि भारतको बाटो हुदै तुईन तरेर आउन लागेका स्थानिय बर्ष ३५ का जय सिह धामी  महाकालीमा बेपत्ता भएको प्रत्यक्षदर्शी स्थानिय जनक सिह धामीले जानकारी दिनुभयो । बेपत्ता धामी तुईन तरेर भारतीय क्षेत्रमा पुगेका थिए । तुईनबाट तरेको भन्दै भारतीय एसएसबीले धम्क्याएर तुईन खोल्न लगाउदाँ तारले तानेपछि नदीमा हुत्तिएको प्रत्यक्षदर्शी धामीको भनाई छ । ‘पाँच छ जना स्थानियहरु सामान लिन बजार जान भारतको बाटो हुदै गइरहेका थियौ, तीन जना तुईनबाट भारत तरेका थिए , जयसिह धामी तर्नेबेला एसएसबी पुगे । एसएसबीहरुले तुईन खोल्न भनि धम्क्याएपछि एक्लै तुईन खोलिरहेका थिए, महाकाली नदीको पानीको बहावले तार खोल्दा तार संगै मान्छे पनि नदीले तान्यो , नदीमा बगेपछि बेपत्ता छ, खोजिरहेका छौ’ प्रत्यक्षदर्शी जनक सिह धामीले भन्नुभयो । घटनाबारे प्रहरी चौकी दुम्लीङलाई जानकारी गराएको उहाँको भनाई छ । नेपाल तर्फ सडक नहुदाँ ब्यास क्षेत्रका स्थानियहरु दार्चुला सदरमुकाम खलंगा आउनका लागि भारतको बाटो भएर महाकाली नदीमा तुईन तरेर आउनुपर्ने बाध्यता छ । तुईनबाट खस्दा बेला बेला यस्ता घटना हुने गरेका छन् ।