कुपोषित बालबालिकालाई निःशुल्क पाइनेछ पोषिलो खाना 

३ बर्ष अघि

२0७८ श्रावण ११ सोमबार

कुपोषित बालबालिकालाई निःशुल्क पाइनेछ पोषिलो खाना 

कृष्ण धामी, ११ साउन दार्चुला । जिल्ला जनस्वास्थ्य कार्यालय दार्चुलाले चालु आर्थिक बर्षको सुरुवात देखि नै कुपोषण उन्मुलन अभियान सञ्चालन गरेको छ । दार्चुला जिल्लामा पाँच बर्ष मुनिका कुपोषित बालबालिकाको संख्या पाँचहजार बढी रहेको पाईए पछि भविष्यका कर्णाधार बालबालिकाको भविष्यलाई ध्यानमा राखेर कुपोषण विरुद्ध अभियान सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत डा. जयराज भट्टले जानकारी दिनुभयो । 
कुपोषित बालबालिकाको वास्तविक अध्ययन गरी उनीहरुलाई समयमै उपचार गर्न सके यसबाट जिल्लाको भावि पुस्ताले कुपोषणको समस्याबाट बच्न सक्ने छन् । कुपोषणको वास्तविक तथ्याङ्क र अवस्था थाहा पाउन अहिले जिल्ला भरी नै अभियान सञ्चालन गरिएको छ । 
पाँच सय जना प्रत्यक्ष उपचारमा 
जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार साउनको पहिलो साताबाट सुरु गरिएको कुपोषित बालबालिकाको जेड स्कोर मापन तथा प्रत्यक्ष उपचारमा हालसम्म ३ सय ९६ जनालाई पहिचान गरिएको छ । जस अन्तरगत २९ जना कडा र १९ जना मध्यम गरी ४८ जना बालबालिका कुपोषणका सिकार बनेका छन् । 
छ पालिकाले थाल्यो अभियान
दार्चुला जिल्लामा हाल ६१ वटा वडा रहेका छन् । ९ वटा स्थानीय तहहरु मध्ये हालसम्म छ वटा पालिकाहरु शैल्यशिखर र महाकाली नगरपालिका तथा नौगाड, मालिकार्जुन, दुहूँ र व्याँस गाउँपालिकामा रहेका स्वास्थ्य चौकी तथा अन्य स्वास्थ्य संस्थाहरुबाट कुपोषित बालबालिकाको पहिचान गर्नका लागि जेड स्कोर मापन अभियान सञ्चालन गरिएको छ ।
तीन पालिकामा अभियान सुन्य
दार्चुला जिल्लाका अपिहिमाल, मार्मा र लेकम गाउँपालिकामा अझै कुपोषित बालबालिका पहिचान तथा जेड स्कोर मापन अभियान सुरु हुन सकेको छैन् । ति पालिकाहरुमा पनि कुपोषित बालबालिका रहेको र भौगोलिक विकटताले अभियान सुरुवात गर्न ढिला भएको छ ।
के हो जेड स्कोर ?
जेड स्कोर भनेको कुपोषण मापन गर्ने विधि हो । यस अन्तरगत बच्चाको उचाई र तौल मापन गरिन्छ । स्वास्थ्यका दृष्टिले कति उचाई अनुसार कति तौल हुनु पर्दछ भन्ने निश्चित मापदण्ड हुन्छ । मापनमा मापदण्ड पुग्ने बालबालिका निरोगि आर्थात स्वस्थ्यकर मानिन्छ भने मापदण्ड नपुग्ने वालबालिका कुपोषित हुन्छ । 
जेड स्कोर मापन गर्ने हाईट बोर्ड, टेरा स्केल र सेका स्केल उत्तम मानिने जिल्ला जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनु भयो । हाल यी उपकरणहरु दार्चुला जिल्लाका लागि प्रयाप्त रहेको भट्टको भनाई छ । अभियानलाई व्यापक बनाउन स्थानीय सरकारहरुले यस्ता उपकरण खरिद गर्नु पर्नेहुन्छ ।
कुपोषित बालबालिकालाई निःशुल्क पोषित खाना दिईने
कुपोषणको अवस्थालाई कडा र मध्यम  गरी दुई भागमा विभाजन गरि त्यसै अनुसारको पोषिलो खानाको रुपमा एफ ७५, एफ १०० र आरयुटिएफ उपचारात्मक खाना निःशुल्क रुपमा दिईने जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । एफ ७५ र एफ १०० छ महिना मुनिका बालबालिकालाई दिईने र आरयुटिएफ पाँच बर्ष मुनिका बालबालिकालाई दिइने जिल्ला जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो ।