धामालेकमा बन्यो सामुदायिक स्वास्थ्य इकाई केन्द्र

३ बर्ष अघि

२0७८ श्रावण १ शुक्रबार

धामालेकमा बन्यो सामुदायिक स्वास्थ्य इकाई केन्द्र

धामालेक सामुदायिक स्वास्थ्य इकाई केन्द्रको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।  मालिकार्जुन गाउँपालिका वडानम्बर ८ शंकरपुरको धामालेकमा निर्माण गरिएको सामुदायिक स्वास्थ्य इकाई केन्द्रको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले एक औपचारीक  कार्यक्रमका विच उद्घाटन गरेका हुन् ।
मालिकार्जुन गाउँपालिकामा रहेका ८ वडामध्ये भौगोलेक र जनसंख्याकाका आधारमा सवैभन्दा ठुलो वडाका रुपमा रहेको शंकरपुरको धामालेकमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले जानकारी दिनुभएको छ । 
विकट र दुर्गम रहेको वस्तीमा स्वास्थ्य सेवाको सहज पहुँच पुगाउन गाउँपालिकाको अनुरोधमा सुदुरपश्चिम प्रदेश सरकारले वजेट विनियोजन गरि सामुदायिक स्वास्थ्य इकाई केन्द्रको भवन निर्माण सम्पन्न भएको मालिकार्जुन गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो । 
गत आर्थिक वर्ष २०७७।७८ मा सुदुरपश्चिम प्रदेश सरकारले भवन निर्माणका लागि १५ लाख बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । 
सामाजिक विकास मन्त्रालयबाट विनियोजन भएको बजेट स्वास्थ्य कार्यालय दार्चुला संग सम्झौता गरि निर्माण कार्य सम्पन्न गरिएको हो । 
उक्त बजेटबाट २ कोठे सामुदायिक स्वास्थ्य भवन र सौचालय निर्माण गरिएको मालिकार्जुन गाउँपालिका वडानम्बर ८ का वडाअध्यक्ष पदमराज पन्त प्रेमले जानकारी दिनुभएको छ । सामुदायिक स्वास्थ्य इकाई केन्द्र भवन निर्माणका लागि स्थानिय मोहनदेव पन्तले २ रोपनी दान गरेको वडाअध्यक्ष पन्तले बताउनुभयो । 
जग्गादान गरेका जग्गादाता मोहनदेव पन्तलाई मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले दोसल्ला ओढाएर सम्मानित गरेको छ । 
सामुदायिक स्वास्थ्य ईकाई केन्द्रको उद्घाटन गरेसंगै स्वास्थ्य सेवा प्रदान गरिएको छ । जेष्ठ नागरिक विर बहादुर चन्दको स्वास्थ्य चेकजाँच गरि स्वास्थ्य सेवा सुरु गरिएको मालिकार्जुन गाउँपालिका स्वास्थ्य शाखा संयोजक रामदत्त भट्टले जानकारी दिनुभएको छ । 
सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा सिनियर अनमी एक जना र एक जना अहेव रहने गरी स्वास्थ्यकर्मी खटाएको उहाँले बताउनुभयो । 
गाउँपालिकाले स्वास्थ्य इकाई केन्द्रको व्यवस्थापन गर्न चालु आर्थिक वर्ष २०७८।७९ मा कार्यान्वयन हुने गरि ८ लाख ५० हजार बजेट विनियोजन गरिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले बताएका छन् । 
मालिकार्जुन गाउँपालिका वडानम्बर ८ का वडाअध्यक्ष पदमराज पन्त प्रेमको अध्यक्षतामा गरिएको उद्घाटन कार्यक्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामी प्रमुख अतिथि रहेका थिए । 
उद्घाटन कार्यक्रममा मालिकार्जुन गाउँकार्यपालिका सदस्य धाना धामी, गंगा टमटा, तारा टमटा,वडासदस्यहरु,शंकरपुर क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सुरेशसिह धामी,शंकरपुर माध्यमिक विद्यालय पस्तीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष किसनसिह धामी लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।  सामुदायिक स्वास्थ्य इकाई केन्द्र धामालेकबाट चस्कोट,धामालेक, खेतार,पन्दापाली, साननीचोरा लगायतका स्थानियले सेवा लिन पाउने भएका छन् ।