कुपोषित बालकलाइ उपचार गर्न डडेल्धुरा पठाइयो

३ बर्ष अघि

२0७८ श्रावण १ शुक्रबार

कुपोषित बालकलाइ उपचार गर्न डडेल्धुरा पठाइयो

दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका २ का एक कुपोषित बालकलाई थप उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ । एकसाता देखि जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारको लागि डडेल्धुरा पठाइएको हो । गत वैशाख ७ गते गोकुलेश्वर अस्पतालमा जन्मिएका ती बालकमा कुपोषणको लक्षण देखिएको हो । जन्मिदा ३ किलो तौल भएका बालकको अहिले तौल घट्दै गएको छ । बच्चा जन्मिएको केहि समयमै आमा रजे ओडको मृत्यु भएको थियो । आमाको मृत्युपछि बालकलाई समस्या भएको हो । जनस्वास्थ्य कार्यालयले गोकुलेश्वरबाट खलंगा ल्याएर उपचार गराएको थियो । तर यहाँका उपचार सम्भव नहुने अवस्था देखिएपछि डडेल्धुरा टिम अस्पताल पठाइएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर आद्रर्श लिम्बुले बताउनुभयो । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लामा कुपोषित बालबालिकाको संख्या झण्डै १ हजार ३ सयको हाराहारीमा रहेको प्रारम्भिक तथ्यांक रहेको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो । अहिले जिल्लाका विभिन्न स्वास्थ्य संस्थमार्फत जेड स्कोर निकालेर कुपोषित बाल बालिका पत्ता लगाइने काम भइरहेको छ । यो सुविधा हालसम्म जिल्ला भित्रका ११ वटा स्वास्थ्य संस्थामा उपलब्ध गराइएको छ । अभिभावकहरुले आफ्ना बाल बालिकाहरूको जेड स्कोर निकाल्न स्वास्थ्य संस्थामा सम्पर्क गर्नसमेत उहाँले आग्रह गर्नुभएको छ ।