सशस्त्रको बीओपी भवन निर्माण कार्य सुरु

३ बर्ष अघि

२0७८ असार २६ शनिबार

सशस्त्रको बीओपी भवन निर्माण कार्य सुरु

दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्याँस गाउँपालिका वडा नम्बर १ तिङ्करमा सशस्त्र प्रहरीको बोडर आउट पोष्ट बीओपि भवन निर्माणको काम सुरु भएको छ । हेलिकेप्टरमार्फत समान ढुवानी गरेर भवन निर्माण कार्य सुरु भएको हो । बीओपी भवन निर्माणको लागि धुलीखेल प्याराडाइज एण्ड एलबी निर्माण सेवाले ठेक्का पाएको छ । चालु आर्थिक वर्षकोे असार मासान्त भित्रै निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको भवनको सम्झौता अवधि सकिनै लागेको बेला निर्माण व्यवसायीले काम थालेको छ । तिङ्करमा यस अघि भारी हिमपातका कारण समयमै निर्माण सामाग्री ढुवानी गर्न नसकिएकाले काममा ढिलाइ भएको निर्माण व्यावसायी लालबहादुर बलमे जानकारी दिनुभयो । समान ढुवानी भएसगै तिङ्करमा बीओपी निर्माणको काम अघि बढेको नर्माण जिम्मा पाएका स्थानीय योगेश बोहराले बताउनुभयो । सरकारले व्याँसको तिङ्करमा बीओपी बनाउनको लागि एक करोड बजेटमा ठेक्का सम्झौता गरेको छ । व्यास गाउँपालिकाको वडा नम्बर १ मा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरु भाडाकै घरमा बसेको छ । छाङरुमा अहिले निर्माणको काम भइरहे पनि तिङ्करमा काम नै सुचारु गर्न ढिलाई भएको सशस्त्र प्रहरीले जनाएको छ । छाङरुको गागामा पनि सशस्त्र प्रहरीको भवन एक वर्षमा भुई तलामात्रै निर्माण भएको छ । निर्माणाधीन सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० को भवनको लागि सयौं क्युफिट काठ अनुमतिवीनै काटिएको छ । निर्माणाधीन भवनमा प्रयोग भइरहेको काठबारे अनुसन्धान सुरु गरिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । निर्माण व्यवसायीले अपि नाम्पा संरक्षण क्षेत्रमा गत पुषमै ५ हजार क्युफिट काठको अनुमतिको लागि निवेदन दिएपनि हालसम्म अनुमति दिइएको छैन । गुल्म अन्तर्गत माथिल्लो कौवा र तिङ्करमा बीओपी राख्ने तयारी छ । भने व्यास गाउँपालिका–२ दुम्लीङ, महाकाली नगरपालिका–९ दत्तु, मालिकार्जुन गाउँपालिका–७ जोलजिबि र लेकम गाउँपालिका–३ लालीमा बीओपी स्थापना भइसकेको छ ।