पहिरोमा परी ३ जनाको मृत्यु

३ बर्ष अघि

२0७८ असार २४ बिहीबार

पहिरोमा परी ३ जनाको मृत्यु

दार्चुला । दार्चुला जिल्लाकाे नाैगाड गाउँपालिकाकाे वडा नम्बर ३ मा  पहिरोमा परी  ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका—३ चौखुट्टे बस्ने ७२ वर्षीय गेउडी ठगुन्ना, उनकी ३ महिने नातिनी मञ्जरी ठगुन्ना र सोही ठाउँ बस्ने २९ वर्षीय लक्ष्मण सिंह सितोली रहेका छन् । 

 

गए राती परेको अविरल वर्षाका कारण घर माथिबाट आएको बाढी र पहिरोमा पुरिएर एकै परिवारका दुई गरी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए । पहिरोमा परेर वडा नम्बर ३ कै १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएकी छन् ।
 
घटनास्थल तथा जिल्लाभरि प्रभावित क्षेत्र तर्फ प्रहरी परिचालन गरिएको उनले बताए । पहिरो सँगै खोलामा आएको बाढीले ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बगाएको जनाइएको छ । बाढीले खार र जामिर जोड्ने ५० मिटर लामो झोलुङ्गे पुल समेत बगाएको छ ।

नौगाडकै वडा नम्बर ६ धुलीगाडामा रहेका २ वटा घट्ट, ३ वटा आरसीसी पुल, ३ वटा खानेपानीको मुहान बगाएको छ भने स्वास्थ्य चौकी भवन जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । गत वर्ष दार्चुलामा बाढी पहिरो तथा आगलागीका घटनामा परि १० जनाको ज्यान गएको थियो ।