नौगाड गाउँपालिकाको बजेट झण्डै ४६ करोड

३ बर्ष अघि

२0७८ असार ११ शुक्रबार

नौगाड गाउँपालिकाको बजेट झण्डै ४६ करोड

दार्चुलाको नौगाड गाउँपालिकाले अगामी आर्थिक वर्ष ०७८÷०७९ का लागि झण्डै ४६ करोड रुपैयाँको बजेट गाउँसभामा प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले आगामी आर्थिक वर्षको लागि कुल ४५ करोड ९३ लाख ४० हजार रुपैयाँको बजेट गाउँसभामा प्रस्तुत गर्नुभएको हो । संघीय वित्तीय समानिकरण, संघीय शर्सत अनुदान, संघीय राजश्व बाडफाड, प्रदेश वित्तीय समानिकरण लगायतका स्रोतबाट प्राप्त हुने बजेटको आधारमा वार्षिक बजेटको खाका तयार पारी प्रस्तुत गरिएको छ । गाउँपालिकाले पूर्वधार विकास क्षेत्रमा ४ करोड ६७ लाख, कृषि पशुपालनतर्फ १ करोड २२ लाख ७० हजार २३१ रुपैयाँ, वातावरण तथा विकास ५९ लाख, सामाजिक विकास क्षेत्रतर्फ १ करोड ८७ लाख ३१ ह्जार ३२० रुप्ैयाँ, शिक्षातर्फ २ करोड ८६ लाख ६० हजार, लैगिंक समाजिक समावेशीकरणतर्फ २६ लाख ५० हजार संस्थागत विकास तथा सुशासनतर्फ ८० लाख ३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँपालिका अध्यक्ष धामीले गाउँसभामा प्रस्तुत गर्नुभएको बजेट अनुमानित बजेट अनुसार गाउँपालिकाभित्रका बालविकास कार्यकर्ता, विद्यालय कर्मचारी सहयोग पारश्रमित बृद्धि ७ हजार, महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन भत्ता २ हजारका दरले विनियोजन गरिएको छ । गाउँपालिकाले पशु तथा कृषितर्फ कुल १ करोड २३ लाख, स्वास्थ्यतर्फ १ करोड ८७ लाख, शिक्षा क्षेत्रतर्फ २ करोड ८८ लाख रुपैयाँ विनियोजन गर्नुभएको छ । यस्तै लैगिंक समानता तथा समावेशीकरणतर्फ २६ लाख ५० हजार, बेरोजगारसँग गाउँपालिका अध्यक्ष कार्यक्रम २० लाख, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनातर्फ १ करोड, छिपुलथान डाइभर्सिटी पार्क २५ लाख, होमरीगाड दोस्रो जलविद्यूततर्फ ९५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी औद्योगिक ग्रामतर्फ २५ लाख, स्वर्गीय विरबहादुर ठगुन्ना प्रतिष्ठानतर्फ ४ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५९ लाख, उद्यमसिलता विकासतर्फ ३४ लाख, टुहुँरा बालबालिका पालनपोषण तथा अध्ययन अन्तर्गत ६ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै दलित कार्यक्रमतर्फ ८ लाख, एम्बुलेन्स खरिदतर्फ १३ लाख रुपैयाँ विनियोजन गरिएको  छ । गत वर्ष बाढिले बगाएको परिगाउँ आधारभूत विद्यालय भवन निर्माणको लागि १ करोड २७ लाख, गणेश विनायक मावि सिप्टी भवन निर्माण १ करोड ४५ लाख, जामिर साङपाङ इयरकोट सडक १ करोड ४५ लाख, रुपैयाँ बजेट विनियोजन गरिएको छ । भने प्रत्येक वडालाई जनसंख्या, भूगोल र विकटताका आधारमा ४ वटा वडालाई ४५ लाख र १ वडामा ५० लाख तथा १ वडामा ५५ लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ ।