दार्चुलामा निषेधाज्ञा १० दिन थप, सवारी साधन जोरविजोर नम्बरका आधारमा चल्न पाउने

३ बर्ष अघि

२0७८ असार ९ बुधबार

दार्चुलामा निषेधाज्ञा १० दिन थप, सवारी साधन जोरविजोर नम्बरका आधारमा चल्न पाउने

दार्चुलामा जारी निषेधाज्ञा असार २० गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बुधबार बसेको बैठकले निषेधाज्ञा १० दिन थप गदै असार २० गतेसम्म पुर्याएको हो । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको अध्यक्षतामा बसेको बैठकले अझै पनि कोरोनाको असर पूर्ण रुपमा घट्न नसकेको तथा तेस्रो चरणको भेरियन्टको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा थप गर्ने निर्णय गर्नुभएको हो । निषेधाज्ञा थप गरिएपनि यसअघिको भन्दा खुकुलो गर्दै लगिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञा समयावधि असार १० गते सकिदै छ । बैठकले यसअघि खुल्दै आएको बजारलाई बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म पुर्याइएको छ । यस्तै बैंक तथा वित्तिय संस्थाहरु बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछन् । यसैगरी बैठकले जिल्लाभित्रको यातायात जोरविजोर नम्बरको आधारमा सञ्चालन गर्न दिने भएको छ । असार ११ गते देखि लागू हुने गरी जिल्लाभित्रको सवारी साधन जोरविजोर नम्बरको आधारमा चल्नेछन् । जिल्लाबाहिर जाने सवारी साधन भने जिल्ला प्रशासनको अनुमतिको आधारमा  मात्रै चल्ने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । बैठकले जिल्लाभित्र सवारी साधन चलाउने सवारी चालक र सहचालकको भने अनिवार्य एन्टिजेन परिक्षण गर्ने भएको छ । चालकहरुको एन्टिजेन परिक्षण नेगेटिभ आए मात्रै सवारी साधन चलाउन पाउनेछन् । यसको लागि सदरमुकाम खलंगाको बसर्पाक, शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर र मार्मा गाउँपालिकाको विटुलेमा सवारी चालकहरुको एन्टिजेन परिक्षण गरिनेछ