दार्चुलामा कोरोना संक्रमित हुने भन्दा निको हुने दोब्बर बढी

३ बर्ष अघि

२0७८ जेष्ठ १४ शुक्रबार

दार्चुलामा कोरोना संक्रमित हुने भन्दा निको हुने दोब्बर बढी

दार्चुला ।  दार्चुलामा कोरोना संक्रमित हुनेहरुको संख्या भन्दा निको हुनेहरुको संख्या दोब्बर बढी छ । जेठ महिनादेखि जिल्लामा धमाधम कोरोना जित्नेहरुको संख्या बढीरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । 
जेठ महिनाको १३ दिनमा मात्रै जिल्लाभरी ४ सय ६७ जनाले कोरोना जितेका छन् । कोरोना संक्रमितको कुल संख्यामध्ये झण्डै ७३ प्रतिशतले कोरोना जितेका छन् । बैशाख महिनासम्म २९ जनाले मात्रै कोरोना जितेकोमा जेठ महिनाको १३ दिनमै साढे ४ सय बढीले कोरोना जितेको स्वास्थ्य कार्यालय दार्चुलाका सिआईसिटी सहजकर्ता सुजन बोहराले बताउनु भयो । कोरोना संक्रमण बढी रहेका बेला कोरोना जित्नेहरुको संख्या पनि बढ्न लागेको हो । बैशाख मसान्तसम्म जिल्लाभरी कोरोना संक्रमितको संख्या ३ सय १६ जना पुगेको थियो भने जेठ महिनाको १३ दिनमा उक्त संख्या दोब्बर भएको छ । जेठ महिनाको १३ दिनको अवधिमा जिल्लाभरी ३ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ कोरोना जित्नेको संख्या भने संक्रमित भन्दा बढी छ । १३ दिनमा मात्रै ४ सय ६७ जनाले जितेका छन् भने हालसम्म जिल्लाका ४ सय ९६ जनाले कोरोना जितेका छन् । कोरोना जित्नेको संख्या संक्रमितको भन्दा दोब्बरले बढेसंगै सक्रिय संक्रमितको संख्या डेढ सय भन्दा तल झरेको छ । जिल्लाभरी ६ सय बढी कोरोना संक्रमित रहेका बेला सक्रिय संक्रमितको संख्या १ सय ४४ जना मात्रै रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । निषेधाज्ञा र नागरिकको सचेतनाले कोरोना संक्रमण दर घट्दै गएको स्वास्थ्यकर्मीहरुको भनाई छ । अझै नागरिकहरुले सचेत र जनस्वास्थ्यका मापदण्डहरुकोे पूर्ण पालनामा जोड दिए कोरोना नियन्त्रणमा ठूलो टेवा पुग्ने उनीहरुको सुझाव छ । दार्चुला जिल्लाभरी विहीवार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महाकाली नगरपालिकामा ४ जना, मालिकार्जुन गाउँपालिकामा १४ जना, लेकम गाउँपालिकामा ११ जना, दुहूँ गाउँपालिकामा ६ जना र मार्मा गाउँपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लाभरी कोरोना संक्रमितको संख्या ६ सय ४० पुगेको हो ।