छाङरु–कालापानी घोरेटो बाटोको अनुगमन

३ बर्ष अघि

२0७८ जेष्ठ १ शनिबार

छाङरु–कालापानी घोरेटो बाटोको अनुगमन

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारको विशेष कार्यक्रम अन्तरगत निर्माणाधीन छाङरु–कालापानी जोड्ने घोरेटो बाटोको सशस्त्र र जनप्रतिनिधिहरुको संयुक्त टोलीले अनुगमन गरेका छन् । प्रदेश सरकारको विशेष कार्यक्रम अन्तरगत ३० लाखका लागतमा निर्माण गर्न लागिएको छाङरु–कालापानी घोरेटो बाटोको अनुगमन गरिएको ब्याँस गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोक सिंह बोहराले बताउनु भयो । ‘प्रदेश सरकारको अनुदानमा निर्माणाधीन छाङरु–कालापानी घोरेटो बाटोको शनिबार हामीले अनुगमन गरेका हौँ’ वडाध्यक्ष बोहराले बताउनु भयो । ब्याँस गाउँपालिका वडा नम्बर १ स्थित छाङरु स्थित ५० नम्बर गुल्मका गुल्मपति डिएसपी धिरेन्द्र शाह नेतृत्वको सशस्त्र टोली तथा वडाध्यक्ष अशोक सिंह बोहराको टोलीले घोरेटो बाटोको अनुगमन गरेका हुन् । छाङरुदेखि अतिक्रमित नेपाली भूमि कालापानी नजिकसम्म पुग्ने घोरेटो बाटो निर्माण गर्न लागिएको हो । भारतीय कब्जामा रहेको कालापानी र भारतले सीमा नदी भन्दै आएको खोलासम्म सम्म समेत नेपाली नागरिकहरुलाई भारतीय एसएसबीले पुग्न दिदैन ।  नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको अतिक्रमित नेपाली भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ । अझै पनि भारतीय फौजले नेपाली भूमि छाडेका छैनन् । यस्तो अवस्थामा ब्याँस क्षेत्रमा सशस्त्र प्रहरीको गुल्म स्थापना गरि सुरक्षा उपस्थिति बढाउने सरकारको तयारी छ । अहिले प्रदेश सरकारको ३० लाख अनुदानमा घोरेटो बाटो निर्माण भइरहेको वडा सचिव बिनोद सिंह बुढाथोकीले बताउनु भयो । छाङरुबाट घोरेटो बाटो निर्माण भइरहेको र उक्त बजेटले भ्याएसम्म घोरेटो बाटो निर्माण गरिने वडाध्यक्ष बोहराले बताउनु भयो । ‘त्यो बजेटले पुरै घोरेटो बाटो बनाउन सम्भव छैन, बजेटले जति भ्याउछ त्यहाँसम्म निर्माण गर्छौ’ वडाध्यक्ष बोहराले भन्नु भयो । नेपाल सरकार अतिक्रमित भूमि नक्सामा समेटेसंगै सुदूरपश्चिम प्रदेश सरकारले ब्याँसमा विशेष कार्यक्रम सञ्चालन गरेको हो । ब्याँस क्षेत्रलाई प्राथमिकता दिदै विशेष कार्यक्रम लागु गरेको छ । पछिल्लो समय नेपाल सरकारले ब्याँस क्षेत्रलाई प्राथमिकता दिदै आएको र विभिन्न नागरिकका सेवा सहज बनाउने प्रयास पनि गरिरहेको छ । ब्याँस क्षेत्रका नागरिकहरुका लागि हेलिकप्टरबाट खाद्यान्न ढुवानी तथा यथाशिघ्र तिंकरलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले नेपाली सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको छ । यसअघि ब्याँस क्षेत्रका स्थानीयहरुलाई कुञ्चा सर्ने बेला नेपालकै बाटो भएर आवत् जावत् गर्ने उद्देश्यले सेनाद्धारा घोरेटो बाटो समेत निर्माण गरिएको थियो । अझै केही स्थानमा बाटो निर्माण गर्न नसकिएकाले केही स्थानमा अप्ठेरो रहेको ब्याँसका स्थानीयहरुले बताएका छन् ।